वस दुर्घटनाका घाइतेलाई सहयोगको घोषणा

0
2320

दार्चुला, मंसिर ९ गते ।
दार्चुलाका ५ स्थानीय तहले मालिकार्जुन वस दुर्घटनाका घाइतेहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उपचारमा मद्दत पुर्याउने उद्देश्यले स्थानीय तहले एक÷एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्रसिह धामीको प्रस्तावलाई समर्थन गर्दै महाकाली र शैल्यशिखर नगरपालिका तथा व्यास र दुहुँ गाँउपालिकाले आर्थिक सहयोगको घोषणा गरेका छन् । महाकाली नगरपालिका प्रमुख हंसराज भट्ट, व्यास गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी, दुहुँ गाँउपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्की र शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मदनसिह रावलले सहयोगको घोषणा गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आइतवार आयोजित एक छुट्टै कार्यक्रममा स्थानीय सरकारका तर्फबाट आर्थिक सहयोगको घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिसम्म सहयोग रकम पुर्याइने महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनुभयो ।
मालिकार्जुन वस दुर्घटनाका घाइतेहरुको उपचारका लागि संघ र प्रदेश सरकारले प्राथमिकता दिइ हेलिकोप्टरको व्यवस्था गरेको भन्दै मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्रसिह धामीले स्थानीय सरकारबाट आर्थिक सहयोगको प्रस्ताव गरेका हुन् ।
शुक्रवार विहान मालिकार्जुन जात्राबाट फर्किने क्रममा महाकाली लोकमार्गको तेर्छालेक क्षेत्रमा मिनिवस दुर्घटना भएको थियो । वस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ४ जनाको नेपालगञ्जमा उपचार भइरहेको र दुईजनालाई नेपालगञ्जबाट काठमाण्डौ रिफर गरिएको दार्चुला प्रहरीले जनाएको छ ।