वर्षा र हिमपातको पूर्वानुमानपछि पिथौरागढका विद्यालयमा बुधवार विदा

0
1987

दार्चुला, माघ १४ गते ।
भारतको पिथौरागढ जिल्ला प्रशासनले जिल्लाभरीका सम्पूर्ण विद्यालयहरुमा बुधवार विदाको घोषणा गरेको छ । बुधवार उत्तराखण्डका केही जिल्लासहित पिथौरागढमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।
देहरादूनस्थित भारत मौसम विभागले मौसमी पूर्वानुमान गरेपछि पिथौरागढ जिल्ला प्रशासनले सुचना जारी गरिएको एक दिनका लागि सबै विद्यालयमा विदाको घोषणा गरेको हो । डिएम डा. विजयकुमार जोगदण्डेले विदा घोषणाको लिखित आदेश जारी गरेका छन् ।
भारी वर्षा र हिमपातको सम्भावना भएकोले कक्षा १ देखि १२ सम्मका सबै विद्यालयमा विदा दिइने आदेशमा उल्लेख छ । कक्षा १२ सम्म सञ्चालित सबै सरकारी र नीजि विद्यालयमा विदा घोषणा गरिएको छ । साथै साना वालवालिकाको रेखदेख गरिने आगनवाडी पनि बुधवार बन्द हुनेछन् ।
विद्यालय बन्द घोषणा गरिए पनि शिक्षक र कर्मचारीलाई भने आफ्नो कार्यालयमा हाजिर हुन भनिएको छ । जिल्ला प्रशासनको आदेशलाई कडाइका साथ पालना गर्न भनिएको छ ।
पिथौरागढ जिल्लाअन्तर्गतका ८ वटै तहसिलमा रहेका उप जिलाधिकारीहरु, मुख्य शिक्षा अधिकारी, प्राथमिक र माध्यमिक स्तरका जिल्ला शिक्षा अधिकारी, खण्ड शिक्षा अधिकारी, वाल विकास विभागका जिल्ला कार्यक्रम अधिकारी र जिल्ला सुचना अधिकारीलाई लिखित आदेश पठाइएको छ ।