वर्षा मात्रै कारण हो ?

0
1378
एक हप्ताभित्र साविकको ब्रह्मदेव र काँटै गाविसका दुई ठाउँमा गएको पहिरोको कारण दुई जनाले ज्यान गुमाएका छन्, करिब एक दर्जन घरपरिवारले आफ्नो घर गुमाएका छन् भने कयौं घर पहिरोको जोखिममा छन् । यी दुबै क्षेत्रमा पहिरोको एक मात्र कारण वर्षाको पानी र भिरालो जमिन होइन । ब्रह्मदेवमा दुई जनाको ज्यान जाने गरी आएको पहिरोको प्रत्यक्ष कारण सडक देखिएपनि परोक्ष रुपमा यो क्षेत्रका राजनीतिकर्मी र सामाजिक अगुवाहरुको ढिपी देखिन्छ भने काँटैमा आधा दर्जनभन्दा बढी घरमा क्षति पुग्ने गरी गएको पहिरोको प्रत्यक्ष कारण भिरालो जमिन र वर्षा भएपनि परोक्ष रुपमा बलजफ्ति सडक निर्माण हो । हामीले ‘दार्चुला–तिंकर सडकको मूख्य सडक बस्ति भएर लैजानु हुँदैन, यसले बस्तिलाई जोखिममा पार्दछ र बस्ति भएर लैजादा लामो पनि हुन्छ’ भन्ने कुराको अडान एलाइमेन्ट परिवर्तन गर्ने जागरण चलाइएका बेला सञ्चार माध्यम मार्फत पटक पटक राखेका थियौं तर दुहुँमा तत्कालीन गाविसहरु जोडेर लैजाने अभूतपूर्व राजनीतिक सहमति भयो । तत्कालीन नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीका सबै नेताहरुले ब्रह्मदेव, धारी, हिकिला, पिपलचौरी आदि गाविसहरु छोएर मूख्य सडक बन्नु पर्दछ, बरु मुआब्जा लिदैनौं भन्दै जागरण चलाए, सडक विभाग मै गएर एलाइनमेन्ट परिवर्तन गराए । हामीले अगाडि सारेको ‘मूख्य सडक महाकालीको किनारै किनार बन्न दिऊँ, गाउँमा साना सडक निर्माण गर्दै गरौंला’ भन्ने बिचारहरु पत्रिकाको सम्पादकीय र बिचार स्तम्भमा सिमित राखिए । सडक निर्माण कार्यले दु्रतता नपाउने हो र उपयुक्त निर्माण व्यवस्थापन नहुने हो यो क्षेत्रमा यो सडकले ताण्डव देखाउन बाँकी नै छ । यस्तै अवस्था काँटैको मुल्ला जोड्ने सडकको पनि हो । तत्कालीन अवस्थामा जिल्ला विकास समितिको कार्यालय अन्तर्गत ड्रिलिपले सडक बनाउँदा नै सो क्षेत्रका स्थानीयले सडक तलतिर रहेको बस्ति जोखिमा पर्ने भन्दै बिरोध जनाए, ड्रिलिपले खनेको माटो तल नफाल्ने सर्तमा सडक खन्यो । खलंगा–दल्लेक सडक खण्ड निर्माण गर्दा पनि सो क्षेत्रका स्थानीयले बिरोध गर्दा सो सडक खनिएन तर पछिल्लो पटक स्थानीयको डरलाई बेवास्था गर्दै मेसिन लगाएर सोबाटो खनियो र नतिजा हामी माझ छ ।
भौतिक पूर्वाधारहरु बन्नु पर्दछ तर अमुक नेता वा पहुँचवालाहरुको सिफारिस र माग अनुसार होइन, प्राविधिक अध्ययन अनुसार । दूरगामी असर गर्ने भौतिक पूर्वाधारहरु निर्माण गर्दा स्थानीयको घरजग्गाको सुरक्षामा पनि ध्यान दिइनु पर्दछ । यी दुई क्षेत्रमा मात्र होइन जिल्लाका कयन क्षेत्रमा अपरिपक्व सडक निर्माण कार्यले पहिरोको जोखिम बढाएको छ । पूर्ण व्यवस्थापनसहित कम दुरीको सडक खन्ने कार्यले जोखिम कम गर्न सकिन्छ ।