वर्षाले गौरापर्व प्रभावित

0
2527

दार्चुला, भदौ १८ गते ।
भदौको सुरुदेखि भइरहेको वर्षाले यसपालीको गौरापर्व प्रभावित बनेको छ । सोमबार गौरापर्वको मुख्य दिन पनि वर्षा भएको छ । सोमबार विहानैदेखि आकाश खुलेको थिएन भने दिउसो र अपरान्ह पानी परेको छ ।
दार्चुलाको प्रमुख धार्मिकस्थल मालिकार्जुनको गौरा वर्षाका कारण प्रभावित बनेको छ । मड र भौतडी गाँउमा रहेका भडारीघरबाट मालिकार्जुन मन्दिरमा गौरा ल्याउदा भने मौसमले साथ दिएको छ । सोमबार दिउसो पानी परेपछि गौरापर्व प्रभावित बनेको मालिकार्जुन सिमलगैरका स्थानीय होटल व्यवसायी गणेशसिह धामीले बताउनुभयो । सोमबार अपरान्ह पनि पानी परेपछि गौराका सहभागीहरुलाई आवतजावत गर्न समस्या भएको छ ।
भदौ महिनाको सुरुदेखि नै हरेक दिन वर्षा भइरहेकोले यसपालीको गौरा राम्रोसंग मनाउन नपाएको मालिकार्जुन खुनामा शेरसिह धामी बताउनुहुन्छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले मालिकार्जुनको गौरा अवलोकन गरेका छन् । वर्षाले गौरापर्व भने प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
मालिकार्जुन मन्दिर परिसर वर्षाका कारण हिलाम्य बनेको छ । गौराका सहभागीलाई आवतजावत गर्न समस्या भएको मालिकार्जुन गाँउपालिका वडा नम्बर १ का कार्यवाहक वडाअध्यक्ष वीरसिह धामीले बताउनुभयो । वर्षा भएपछि गौरापर्वमा स्थानीय संस्कृति झल्किने ‘खेल’ पनि राम्ररी लाग्न नसकेको उहाँको भनाई छ ।
भदौ १५ देखि सुरु भएको गौरापर्वमा हरेक दिन वर्षा भएको छ । ‘पञ्चमीको दिनदेखि हरेक दिन वर्षा भएको छ, पष्ठी सप्तमीको दिन पनि स्थानीय खेल राम्रोसंग हुन सकेन’ प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष किशनसिह धामीले भन्नुभयो ।
मंगलवार र बुधवार पनि गौरापर्वअन्तर्गत खेडी र धोडी हुनेछन् । मालिकार्जुन गाँउपालिका वडा नम्बर ३ स्थित लटिनाथ चौड मन्दिर, शैल्यशिखर नगरपालिकास्थित बन्तोली र देवथली मन्दिर, लेकम गाँउपालिकाको जयपुर मन्दिर लगायत दर्जनौ स्थानमा मेला लाग्ने गर्दछ । यसपालीको गौरा पर्वअन्तर्गतका खेडी, धोडी, लमधोडी पर्वहरु आगामी शुक्रवार सम्म फरक फरक स्थानमा सञ्चालन हुने मालिकार्जुनका मुखिया रुद्रेसिह धामीले बताउनुभयो ।
दार्चुलाका जिल्ला अधिकांश ठाँउको गौरापर्व सोमबारको वर्षाले प्रभावित बनेको छ । महाकाली नगरपालिकाको खलंगा, धाप, दत्तु, मालिकार्जुन गाँउपालिकाको भगवती, शंकरपुर, हुनैनाथ लगायतको क्षेत्रमा पनि वर्षाले गौरापर्व प्रभावित बनेको छ । छिनछिनमा वर्षा भएपछि गौराका सहभागी र दर्शकहरुलाई सास्ती भएको छ ।