वडामा पुगेर जनता सामु कार्यपालिका बैठक

518

दार्चुला, भाद्र ९ गते ।

ब्याँस गाउँपालिकाले बुधबार वडा नं ६ हुतीमा पुगेर जनतासामु कार्यपालिका बैठक सम्पन्न गरेको छ । स्थानीय सरकारको कार्यपालिका बैठकका निर्णयहरु गोप्य हुने र जनतासामु नपुग्ने गरेको विगतको गुनासो चिर्नका लागि जनताको सहभागितामा कार्यपालिका बैठक गरिएको ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीले बताउनुभयो ।
कार्यपालिका बैठकमा विभिन्न ९ प्रस्तावहरुमा छलफल गरिएको ब्याँस गाउँपालिका प्रवक्ता उपेन्द्र सिह धामीले बताउनुभयो । बैठकमा महाकाली नदीमाथी तुइन अझै सञ्चालन भइरहेका ठाउँमा नेपाल भारत जोड्ने झोलुङ्गे पुलहरुको माग गर्ने निर्णय गरिएको छ । वडा नम्बर १ बुदी, वडा नम्बर २ दुम्लिङ, र वडा नं ५ धौलाकोटमा महाकाली नदीमा अझै तुइनहरुको प्रयोग भइरहेकाले सम्बन्धित निकायलाई यी ठाउँहरुमा तुईन विस्थापन गरि झोलुङ्गे पुलहरुको माग गर्ने निर्णय गरिएको छ ।
ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकर पुग्नका लागि नेपाल तर्फ बाटो नहुदाँ भारतको अनुमति लिई जानुपर्ने अवस्था भएकाले तत्काल बैक्लिपिक रुपमा नेपाल तर्फको दुम्लिङ देखि तिंकर सम्मको घोरेटो बाटो सुचारु गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाका ग्रामिण सडकहरु सुचारु गर्ने, विद्युत प्राधिकरण, नेपाल टेलिकम र दार्चुला तिंकर सडकलाई गाउँपालिका भित्र रहेका विकास निर्माण बारे ताकेता गर्ने, वडा नम्बर ६ हुतीका लागि खाद्य डिपो माग गर्ने र तीज विषेश कार्यक्रमका लागि रकम विनियोजन गर्ने लगायतका निर्णय गरिएको छ । कार्यपालिका बैठकमा ब्याँस गाउँकार्यपालिकाका पदाधिकारी सहित १ सय ५६ जना स्थानीयहरुको सहभागिता रहेको थियो ।
जनतासामु कार्यपालिका बैठक गरेर कार्यपालिका बैठकको प्रक्रिया तथा निर्णयहरुको बारेमा आम जनतालाई जानकारी गराएको भन्दै स्थानीयले गाउँपालिकाको उक्त कार्यको प्रशंशा गरेका छन् । कार्यपालिका बैठकमा १० जना स्थानीयले विभिन्न जिज्ञासा तथा गुनासो राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस् !