लुकेकाहरुलाई कारवाही होस्

0
1511

हामीसँग सामाजिक सञ्जालमा जोडिएका र हाम्रा बिचारहरुको अध्ययन गर्नेहरुले महाकाली पारी रहेका नेपालीहरु र विदेशबाट आएका नेपालीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारे हामीले सार्वजनिक गरेको मुद्दाहरुको हेक्का हुनु पर्दछ । महाकाली पारि भारतीय सेल्टरमा रहेकाहरुभन्दा महाकाली तरेर आउने र सम्पर्कमा नआउनेहरु अहिले दार्चुला र अन्य जिल्लाको लागि चुनौति बनेका छन् । महाकाली पारी भारतीय सेल्टरमा रहेकाहरु झण्डै बाह्र सयलाई एकै पटक संक्रमण देखिए भारत सरकारले व्यहोर्ला तर महाकाली तरेर आएका तर कसैको सम्पर्कमा नआएकाहरुले सार्ने संक्रमणको जिम्मेवारी कसले लिने ? हामीले पहिले पनि भनेका थियौं । भारतबाट आउने हरेक नेपालीलाई क्वारेन्टाइनमा राख्नु पर्दछ । उनीहरुबाट अन्यमा संक्रमण सर्ने कुनै पनि काम गरिनु हुँदैन । हामीले यसो गर्न सकेको भए पटक पटक भारतबाट नेपाली आइरहने, हजारौंको मात्रामा नेपाली आइरहने भएकाले चुनौति त दिनदिनै थपिने थियो तर सम्पर्कमा नआउने गरी कोही पनि महाकाली तरेर आउँदैनथे । अहिले सरकारलाई एकातिर नेपालीहरुलाई नेपाल ल्याउन नसकेको आरोप लागेको छ भने अर्कोतिर दिनदिनै महाकाली तरेर आउनेहरुको चुनौति छ । हाम्रो स्थानीय सरकारहरुको तयारी, दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेताहरुको अहिलेसम्मको तयारी र परिणाम ननिस्कने काम तथा स्थानीय प्रशासनको आदेश पालना गर्ने शैली हेर्दा भारतमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन सकिने अवस्था छैन । तर पछिल्लो समयमा जुन परिस्थिति सिर्जना हुँदैछ त्यो गम्भीरताको बाटोमा छ । स्थानीय सरकारहरुले बाहिरबाट आउनेलाई रोक्न र उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याउन केन्द्र सरकारभन्दा पनि अगाडि बढेर निर्देशन जारी गरिरहेका छन् । बाहिरबाट घर आउने सामान्य नागरिकभन्दा रोग सोर्न अपराधिका रुपमा कारवाही गर्ने उर्दी जारेर गरेर पनि नियन्त्रणमा लिने प्रयास हुँदैछ तर हामीकहाँ यस्ता प्रयासहरु देखिएका छैनन् । फलस्वरुप दैनिक महाकाली नदी तरेर नेपाल आउँदैछन् र कति त सम्पर्कमा नै छैनन् । त्यति मात्रै होइन बाहिरबाट आएको थाहा हुँदाहुँदै पनि कयनलाई स्थानीय सरकारहरुले क्वारेन्टाइनमा राख्न सकेका छैनन् । ‘बस्नै मान्दैनन्’ भन्ने हुतिहारा जवाफले ढुक्क छन्, कयन स्थानीय सरकारहरु ।
बन्दाबन्दी भएको सुरुवाति दिनमा दार्चुला भित्रिएका दार्चुलाबासीलाई दुई हप्ता पुगेको छ । उनीहरुबाट संक्रमण सर्ने सम्भाव्यता कम हुन सक्छ किनभने अहिलेसम्म कुनै त्यस्तो लक्षण बोकेका नागरिक देखिएका छैनन् । तर पछिल्लो हप्तादेखि हालसम्म निरन्तर आइरहेकाहरुलाई भने पूर्ण निगरानिमा राखिनु पर्दछ । चोरेर आउनेहरुलाई त झन् कडा कानुनी कारवाहीको दायरामा ल्याइनु पर्दछ र लुकेर बसेकाहरुलाई क्वारेन्टाइनमा नआए थप कारवाहीको भागिदार बनाउने गरी स्थानीय सरकारहरुले निर्णय गर्नु पर्दछ ।