लिपुलेकमा भारतले निर्माण गरिरहेको सडकको काम रोक्न एमालेको माग 

0
667

दार्चुला, माघ १६ गते ।  
अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको भूभागमा भारत सरकारले गरिरहेको सडक विस्तारको काम तत्काल रोक्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले माग गरेको छ । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीले नेपाली भूमिमा भारतले निर्माण गरिरहेको सडकको काम तत्काल रोक्न माग गरेको हो । 


केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले तीब्र रुपमा सडक विस्तार गरिरहेको तथा त्यसलाई निरन्तरता दिने बारेको अभिव्यक्ति तथा दार्चुला सदरमुकाम खलंगा जोखिममा पर्ने गरि भातको धार्चुलामा एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गरेकोप्रति एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ । 


वर्तमान सरकारले एक विज्ञप्ति निकाली जनताको आँखामा छारो हाल्ने काम बाहेक राष्ट्रियताका सवालमा कुनै काम नगरेको एमालेको आरोप छ । 


कालापानी क्षेत्रमा सडक निर्माणको कार्य तत्काल रोक्न, भारतीय हस्तक्षेपका विरुद्ध औपचारिक रुपमा कूटनीतिक नोट मार्फत नेपाल संग भएका प्रमाण काजगहरु सहित यो क्षेत्र खाली गर्न भारतलाई पत्राचार गर्न, कूटनीतिक माध्यमबाट समाधानका लागि भारत तयार नभएमा प्रमाणहरू सहित संयुक्त राष्ट्रसङ्घमा उजुरी दिन एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले माग गरेको छ । 


साथै भारतले एकतर्फी रुपमा महाकाली नदीमा बाध बनाउँदा २०७० सालमा आएको बाढीले नेपाल तर्फ धनजनको क्षति गरेको तथा हाल पनि भारतले नदीको धार परिवर्तन हुने गरि तटबन्ध निर्माण गरिरहेकाले उक्त कार्य तत्काल रोक्न, मानसरोवर जोड्ने बाटो निर्माण तीब्र गतिमा अघि बढाउन तथा ब्यास गाउँपालिका वडा नं १ छाङरुतिंकरका स्थानियहरुका लागि केपी ओली सरकारले निर्माण सुरु गरेको घोरेटो बाटो छिटो निर्माण गर्न र जयसिह धामी घटनाका दोसि भारतीय सीमा सुरक्षा बलका जवानहरूलाई कारवाही तथा परिवारलाई भारत सरकारका तर्फबाट क्षतिपुर्ती दिलाउन पहल गर्न सरकारलाई एमालेले आग्रह गरेको छ ।