लकडाउनमा २४ सय नेपाली दार्चुला भित्रिए

764
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार २३ गते ।
सरकारले चैत्र ११ गते लकडाउन सुरु गरेयता दार्चुलाको सीमानाका भएर २ हजार ४ सय २० जना नेपाली स्वदेश फर्किएका छन् । भारतबाट फर्किएका नेपालीहरुका लागि दार्चुलामा ७ पटक अन्तर्राष्ट्रिय सीमा जोड्ने पुल खोलिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
लकडाउन सुरु भएको चैत्र ११ गते राती खलंगाको पुल खोलेर ७८ जना नेपाली भित्र्याइएका थिए । तीमध्ये ४४ जना दार्चुला जिल्लाका थिए । चैत्र १४ गते दोस्रो पटक खलंगाको पुल खोलिएको थियो । त्यतिबेला २ सय २५ जना स्वदेश फर्किएकोमा दार्चुलाका १ सय ५४ जना रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
भारतको धारचुलामा एक महिना लामो क्वारेन्टाइन बसेका १ हजार २ सय ९६ जनालाई वैशाख १८ गते खलंगा र दत्तुको नाका खोलेर स्वदेश प्रवेश गराइएको थियो । खलंगा नाकाबाट ३ सय ७६ जना र दत्तु नाकाबाट ९ सय २० जनालाई स्वदेश प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मोहन भट्टले बताउनुभयो ।
जेठ ८ गते दार्चुलाको खलंगा नाकाबाट ३ सय १९ जना, असार ३ गते ६६ जना र असार १० गते ४१ जना नेपाली स्वदेश फर्किएको प्रशासनको तथ्यांक छ । असार १९ गते १६ जना नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएकामध्ये २ हजार ४१ जना पुलमार्फत आएका छन् । बाँकी ३ सय ७९ जना भने महाकालीमा पौडी खेलेर, तुइन तरेर र ट्युव तरेर नेपाल फर्किएका हुन् ।
चार महिनाको लकडाउन अवधिमा दार्चुलाको सिमाक्षेत्रबाट नेपाल फर्किएकामध्ये दार्चुला जिल्लाका ९ सय ३२ जना छन् । बैतडीका ६ सय २८, बझाङका ३ सय ४६ जना छन् । कैलाली, सुर्खेत, अछाम, डडेल्धुरा, दैलेख, कञ्चनपुर लगायत १८ जिल्लाका नागरिक दार्चुलाको सिमाक्षेत्रबाट नेपाल प्रवेश गरेको विवरण जिल्ला प्रशासन कार्यालयले तयार गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !