लकडाउनमा पनि निरन्तर सेवा

1232

दार्चुला, बैशाख १९ गते ।

देश बन्दाबन्दीमा परेको बेला बैंकबाट रकम झिक्ने र आफ्नो दैनिक जिविका गर्न नागरिकहरुलाई समस्या परेको बेला दुहुँबासीलाई भने यो समस्या छैन ।
दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलामा रहेको इन्भेस्टमेन्ट बैंकको शाखाले लक डाउनको बेला समेत निरन्तर सेवा दिएपछि दुहुँबासीले बैंकिङ कारोवारको समस्या झेल्नु नपरेको हो ।
स्थानीय स्तरमा व्यापार व्यवसाय गर्दै आएका दुहुँ गाउँपालिका वडा नम्बर १ का राजेन्द्रबहादुर बंमले बिहीवार मात्रै शाखाबाट २० हजार झिके । ‘सदरमुकाम जान लक डाउनले दिदैन, गाउँ मै बैंकले निरन्तर सेवा दिएकाले कारोवार गर्न सहज भएको छ ।’ बंमले भने । बिहीवार मात्रै ४० जनाले बैंकिङ कारोवार गरेको शाखा प्रमुख कार्कीले जानकारी दिएका छन् ।
बैंकका कर्मचारी र सेवाग्राहीको सुरक्षाका लागि बैंकभित्र पस्नेहरुलाई सेनिटाइजरको प्रयोग गर्न लाइएको र साबुन पानीले हात धोएर मात्रै कारोवार गर्न लगाइएको बैंकका शाखा प्रमुख बिरेन्द्रसिह कार्कीले जानकारी दिए ।
जिल्ला सदरमुकामबाट झण्डै बिस किलोमिटर उत्तरमा रहेको हिकिलामा रहेको बैंकको शाखाले निरन्तर सेवा दिएपछि बैंकमा कारोवार गर्नेहरुलाई मात्रै नभएर सो पालिकामा रहेका सामाजिक सुरक्षा भत्ता पाउनेह नागरिकहरुलाई समेत समस्या छैन । बैंकले पालिकाको समन्वययमा घर घर गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकाले उक्त भत्ता पाउनेहरु पनि समस्यामुक्त भएका छन् ।
बिहीवार मात्रै ७५ वर्षिय पार्वती देबी बडालले आफ्नो बृद्धभत्ताको १२ हजार रुपैयाँ झिकिन् । गाउँ मै बैंक भएकाले र लक डाउनका बेला पनि बैंकले सेवा दिएर आफैले रकम लिन सकिने अवस्था भएकाले उनले खुसी व्यक्त गरिन् । दुहूँ गाउँपालिकाका वडा नम्बर १ र २ का सेवाग्राहीले आफ्नो सामाजिक सुरक्षा भत्ता बैंक मै आएर बुझ्ने गरेको शाखा प्रमुख कार्की बताउँछन् ।
पालिकाका अन्य ३ वडाहरुमा भने पालिकासँग समन्वय गरेर घर घर सुरक्षा भत्ता पुर्याइन्छ । यो वर्षको दोस्रो चौमासिकको सुरक्षा भत्ता पनि गत १६ गते नै सबैको घर घर पुर्याएको बैंकले जनाएको छ । दोस्रो चौमासिकमा दुहुँ पालिकामा बैंक मार्फत १ हजार २ सय २२ जनाले सुरक्षा भत्ता लिएका छन् । वडा नम्बर ३ मा २ सय ६०, ४ मा १ सय ८९ जना र ५ मा १ सय ५५ जनाले वडा कार्यालयको समन्वयमा सामाजिक भत्ता बुझेका छन् । बैंकका २ हजार ५ सय ग्राहक समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !