लकडाउनः महाकाली पौडेर आउने ३० जना नियन्त्रणमा १० फरार

1439

लक डाउन खुल्दैन, जहाँ हुनुहुन्छ त्यही बस्नुस्ः प्रशासन

पदम बडाल, दार्चुला ।
कारोना भाइरसको प्रकोपले नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको विभिन्न क्षेत्रमा रोजगारी गरिरहेका नेपालीहरु विचल्लीमा परेका छन् । नेपाल आउन नपाएपछि कोही भारतले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका छन् भने कोही महाकाली नदिमा पौडेर आफ्नो देश आइरहेका छन् ।
सोमवार र मंगलवार महाकाली पौडेर आउने ४० जनामध्ये १० जना सम्पर्कमा आएका छैनन् भने ३० जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ ।
सोमवार दिनमा महाकाली तर्ने ३ जनालाई उनीहरुको पालिकाको जिम्मा लगाइएको छ भने राति महाकाली तरेर नेपाल आउने २० जनालाई व्याँस गाउँपालिकाको हुतिमा नियन्त्रणमा लिइएको छ । महाकालीमा ढुंगै ढुंगा भएको फाइदा उठाउँदै सुन्सेरा क्षेत्रबाट नेपाल छिरेका २० जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिएका छन् । व्याँस गाउँपालिकामा दार्चुला जिल्ला मार्मा गाउँपालिकाका ९, नौगाढ गाउँपालिकाका २, डडेल्धुरा आलितालका ३ र बैतडी पुर्चौडीका ६ जना रहेका छन् । सोमवार दिउँसो महाकाली नगरपालिकाको विभिन्न क्षेत्रबाट नियन्त्रण लिइएका पुर्चौडी नगरपालिकाका ४ र डिलासैनी नगरपालिकाका ३ जनालाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिने महाकाली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दिनेश जोशीले जानकारी दिनुभएको छ । नेपाल छिर्ने सबैलाई नगरपालिकाले क्वारेन्टाइनमा राख्न नसक्ने बताउँदै वडा अध्यक्ष जोशी भन्छन् ‘सबैभन्दा राम्रो सम्बन्धित जिल्ला र पालिकाले आफ्ना नागरिकको जिम्मेवारी लिदाँ हुन्थ्यो, बरु यातायातको व्यवस्था हामी गथ्र्यौ ।’

आत्तिएर ज्यान जोखिममा नपार्न र जहाँ हुनुनुहुन्छ त्यही सुरक्षति बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले बताउनु भएको छ ।
सबै वडाहरुलाई बाहिरबाट आउनेहरुको तथ्याङ्क लिन र उनीहरुलाई क्वारेन्टाइनमा बसाल्ने व्यवस्था गर्न पत्राचार गरिएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी कुवँर ‘अहिले जो जहाँ छ, त्यही बस्नुको बिकल्प छैन ।’

तपाईको प्रतिक्रिया दिनुहोस् !