राहत माग्दा वडाध्यक्षको थप्पड

0
1422

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको प्रकोपका बेला विभिन्न तहका सरकारका जनप्रतिनिधीहरुले आफ्ना जनताहरुलाई राहत वितरण गरिरहेका छन् तर दुहु गाउँपालिकामा भने जनताले राहत माग्दा जनप्रतिनिधीले थप्पड हानेका छन् ।
दुहु गाउँपालिकाको वडा नं ५ मा स्थानियले राहत माग्दा वडाध्यक्षले थप्पड हानेका हुन् ।
वडा कार्यालयमा राहत वितरण भइरहेको खबर पाएपछि राहत माग्न वडा कार्यालयमा पुगेका स्थानिय मदन महरालाई वडाध्यक्ष दौलत सिह महराले थप्पड हानेको पिडित महराले बताएका छन् ।

वडाकार्यालयले आइतबार दिउसो राहत बाडिरहेका बेला आफुले पनि राहत माग्न जादा वडाध्यक्ष महराले थप्पड हानेको पिडित मदन महराको भनाई छ ।
वडाध्यक्ष दौलत महराले भने थप्पड हानेको नभई धक्का मात्रै दिएको बताएका छन् ।
“राहत वितरण भएका बेला आफुहरुले नपाए वडा कार्यालयमा तालाबन्दि गर्ने भन्दै १५÷२० जना युवाहरुको समुह आएको र सम्झाउदाँ नमाने पछि धक्का मात्रै दिएको हु, हातपात गरेको छैन” वडाध्यक्ष महराले भने ।
वडाध्यक्षले हातपात नगरेको दाबि गरिरहदाँ प्रत्यक्षदर्शी र पिडित भने राहत माग्दा वडाध्यक्षले थप्पड हानेको बताउँछन् ।
वडा समितिले पहिलो चरणमा गाउँपालिकाबाट प्राप्त रकमको राहत खरिद गरि ९९ सय परिवारलाई वितरण गरेको र उक्त राहत मदन महराले पनि पाएको वडाध्यक्ष दौलत सिह महराको भनार्ई छ ।
दोस्रो चरणमा प्राप्त रकम वाट वडा समितिले राहत सामग्री खरिद गरि ४८ परिवारलाई वितरण गरेको वडाध्यक्ष महराको भनाई छ ।
उक्त ४८ परिवार मध्ये ३० परिवारले पहिलो चरणमा वितरण भएको राहत पनि पाएका थिए ।यसरी दोस्रो चरणमा वितरण हुने राहतका लागी नयाँ छनौट हुने १८ परिवार मात्रै छन् ।
दोस्रो चरणमा राहत पाउने ४८ परिवार भित्र आफु पनि छनोट भएकोमा आफ्नो नाम काटेर अरुलाई वितरण गरिएको र आफुले राहत माग्दा वडाध्यक्षले थप्पड हानेको स्थानिय मदन महराको भनाई छ ।
“लकडाउनले रोजगारी नपाउँदा समस्यामा परेको छु, घरमा १४ जनाको परिवार छ, चामल किन्न लाई पनि पैसा छैन, जनप्रतिनिधिलाई सहयोग माग्दा थप्पड पाए” उहाँले गुनासो गरे ।
आफु निकटका र खान लाउन पुग्नेलाई पनि राहत बाडिरहदा वास्तविक गरिव घरपरिवारलाई वडाकार्यालयले राहत नदिएको स्थानियहरुको गुनासो छ ।
विपन्न परिवारका मदन महरालाई राहत माग्दा थप्पड हान्ने वडाध्यक्षले हुनेखाने बर्गलाई राहत वितरण गरिरहेको स्थानिय धन सिह महराको आरोप छ ।
विवाद बढेपछि वडाध्यक्ष दौतल सिह महराले स्थानिय मदन सिह महरा संग माफी मागी घटना साम्य पारेको स्रोतले जनाएको छ ।

प्रदेशको बाट प्राप्त भएको रकम दोस्रो चरणमा वितरण भइरहेको र ६ लाख ९० हजारले सबै परिवारलाई समेट्न सम्भव नभएको दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको भनाई छ । स्थानियहरुले दामासाहि तरिकाले वितरण गर्न माग गरि वडाध्यक्षको विरोध गर्न नियोजित ढंगले घटना गर्न खोजीएको अध्यक्ष कार्कीको भनाई छ ।