राष्ट्रवादीको परिचय र प्रमाण

0
719

सम्पादकीय ।
राष्ट्रवादी नेताको परिचय बनाएका स्वर्गीय प्रेमसिह धामीको चौबिसौं स्मृति दिवस मनाइएको छ ।

स्मृति प्रतिष्ठानले जिल्ला सदरमुकाममा मनाएको स्मृति दिवसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको उपस्थिति रह्यो र धामीको अभाव खड्किएको विषय उठान भयो । झण्डै सत्ताई वर्ष पहिले धामीले उठाएको कालापानीको मुद्दा अहिले राष्ट्रको मुद्दा भएको छ र ओली सरकारले भारतले कब्जा गरेको भूमिलाई समेत समेटेर नेपालको नक्सा जारी मात्रै गरेको छैन धामीको दाबिलाई पुष्टि गर्दै संविधान नै संशोधन गरेर उक्त भूमिमा एकतर्फि भएपनि अधिकार जनाइएको छ । धामीको चौबिसौं स्मृति दिवससम्म आइपुग्दा उनले उठाएको मुद्दा राष्ट्रिय स्तरमा स्थापित हुनु र कालापानीको मुद्दालाई सबैले स्वीकार गर्ने स्थितिमा पुग्नु धामीको मात्रै नभएर उनको विचारसँग एकाकार हुने सबैको ठूलो जित हो । धामीसँगै स्वर्गीय नेता वीरबहादुर ठगुन्ना र तत्कालीन एमाले महासचिव मदन भण्डारीले समेत यो विषयमा गहीरो चाँसो र चिन्ता राखेको विषय पनि कसैबाट छिप्न सकेको छैन । स्वर्गीय धामीले उठाएको देशको भूगोलको विषयलाई राष्ट्रले स्वीकार गरेको कुरा मात्रै उनको राष्ट्रिवादी परिचय होइन । उनले उठाएको जनजिविकाका सवाल र जिल्लाको विकासका लागि उनले चालेका कदमहरुले पनि उनलाई यो परिचयसम्म पुर्याएको कुरामा दुई मत छैन ।
महाकाली सम्झौताका बेला महाकाली सम्झौता देशको हितमा नभएको भन्नेमा धामी प्रमुख थिए । नेपाली काँग्रेसको सरकारले अगाडि सारेको उक्त सम्झौताको अध्ययन गर्न एमालेका वर्तमान अध्यक्षको संयोजकत्वमा गठन गरिएको अध्ययन टोलीका सदस्यका रुपमा रहेका धामी उक्त सम्झौताका बिरुद्धमा थिए । बहुमत सदस्यहरु उक्त सम्झौताको बिरुद्धमा हुँदाहुँदै पनि तत्कालीन सरकार र अध्ययन टोलीका अध्यक्षले महाकाली सम्झौता अघि बढाए । त्यसको सडक र सदनमा मात्रै नभएर सञ्चार माध्यमबाट समेत धामीले बिरोध गरे । तत्कालीन सरकारले आतंककारी गतिबिधिमा संलग्न भएको भन्दै माओवादी बिद्रोहलाई आतंककारी कार्यका रुपमा चित्रण गर्दै गर्दा माओवादी समस्या अध्ययन गर्ने टोलीका सदस्य उनी थिए र धामीको टोलीले माओवादी समस्या आतंककारी समस्या नभई राजनीतिक समस्या भएकाले राजनीतिक बाटोबाट समस्याको समाधान गरिनु पर्ने निष्कर्ष निकालेको थियो । अहिले माओवादी राजनीतिक शक्तिका रुपमा स्थापित छ र माओवादी नेताहरुका टाउकाका मूल्य तोक्ने पार्टी र व्यक्तिसँग मिलेर सरकार चलाउँदै छ ।
भारतले कब्जा गरेको भूमिमा राज्यले औपचारिक रुपमा दाबि गर्नु, महाकाली सम्झौता नेपालीको हितमा नदेखिनु र माओवादी राजनीतिक शक्तिका रुपमा स्थापित हुनुले धामीले उठाएका मुद्दाहरु राष्ट्रहितमा थिए भन्ने कुरा प्रमाणित भएको छ । अब उनले उठाएका जनजिविकाका सवालहरुलाई कार्यान्वयन गर्नु अहिलेका नेताहरुको जिम्मेवारी हो । यो जिम्मेवारीको कार्यान्वयन नै धामीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।