राष्ट्रपति रनिङ सिल्ड मार्मामा

2323

दार्चुला, चैत्र ४ गते ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०्र७५ आगामी बैशाख ५ गतेदेखि सञ्चालन गरिने भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बैशाख ५ गतेदेखि ९ गतेसम्म सञ्चालन गर्न लागिएको हो ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थपन तथा निर्देशन समितिको सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मार्मा गाउँपालिकामा सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागि खेलाडीहरु छनोट गर्नका लागि यहि चैत्र २४ गतेदेखी ३० गतेसम्म पालिका स्तरीय प्रतियोगिता सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मार्मा गाउँपालिकाको लटीनाथ मावि रस्कोटमा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला खेलकुद विकास समिति दार्चुलाका कोषाध्यक्ष खडकसिँह बडालले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आर्थिक सहयोगको प्रस्तावना पेश गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । मन्त्रालयबाट प्राप्त बजेटले प्रतियोगिता सञ्चालन गर्न रकम अपुग हुने भएकाले जिल्लाका नौ ओटै स्थानीय तहलाई आर्थिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रतियोगिता निर्देशिका अनुसार मात्रै सञ्चालन गरिनेबारे सबै विद्यालयलाई जानकारी गराइदिन शिक्षा विकास तथा समन्वय समिति दार्चुलालाई अनुरोध गरिने छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका जिल्लाका नौ ओटै स्थानीय तहलाई पठाउने र सोही अनुसार प्रतियोगिता सञ्चालन गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ । प्रतियोगिता बैशाख ५ गते उद्घाटन गरि ९ गते समापन हुने छ ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनका लागि मार्मा गाउँपालिकाले खेल मैदान समेत मर्मत–निर्माण गरिसकेको छ । साडे ४ लाख बजेट विनियोजन गरि मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित लटीनाथ खेल मैदान मर्र्मत गरेको मार्मा गाउँपालिकाले जनाएको छ ।
प्रयोग विहीन लटीनाथ मैदानलाई गाउँपालिकाले डोजर लगाएर सम्याएको छ । सोही मैदानमा प्रतियोगिता सञ्चालन गरिने छ । मन्दिर क्षेत्र समेत रहेको उक्त मैदान गाउँपालिकाले मर्मत नगरेको भए मार्मा गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था नरहेको गाउँपालिका अध्यक्ष जमनसिँह धामीले बताउनु भयो ।
गाउँपालिकाले उक्त मैदान मर्मत गर्ने बेला थुप्रै गुनासो र कडा शब्दहरुको सामाना गर्नु परेको थियो । अन्ततः मैदान मर्मत गरि सोही मैदानमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !