राताकाठामा सडक सुधारिदै

0
2244

एक हप्ताभित्रै तयार गरिने
दार्चुला, माघ २७ गते ।
दार्चुला तिंकर सडकअन्तर्गत बहुचर्चित राताकाठा क्षेत्रमा सडक सुधारको काम भइरहेको छ । सडक सुधारको जिम्मा पाएको लामा चन्द्रा एण्ड बसन्त कम्पनीले एक हप्तादेखि सडक सुधारको काम गरिरहेको छ ।
तीन वर्षअघिको ठेक्का भए पनि ठेकेदारले अहिलेसम्म सडक सुधारको काम सम्पन्न गरेको छैन । पछिल्लो समय दार्चुला तिंकर सडक योजनाले राताकाठाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गराइरहेको योजना प्रमुख अच्युत विलाश पन्तले बताउनुभयो ।
राताकाठा क्षेत्रमा कडा चट्टान भएकोले सडक सुधारमा धेरै समय लागेको छ । कडा चट्टान र भिरालो ठाँउ भएकोले सडक सुधारका लागि जिलेटिन प्रयोग गर्नुपरेको योजन प्रमुख पन्तले बताउनुभयो । ‘दुई पटक जिलेटिन प्रयोग गरी चट्टान फुटाउने काम भएको छ, अझै दुई पटक जिलेटिन प्रयोग गर्नुपर्ने आवश्यकता छ’ उहाँले भन्नुभयो ।
राताकाठा क्षेत्रमा गाडी चल्न दिइएको छैन । सडक सुधारको काम चाँडो गराउन गाडी सञ्चालनमा रोक लगाइएको दार्चुला तिंकर सडक योजनाले जनाएको छ । स्थानीय प्रशासनले राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोक लगाए पनि सामान बोक्ने टेक्टर भने चल्दैआएका थिए ।
करिब छ सय मिटर लामो राताकाठा क्षेत्रको भीरमध्ये ८० प्रतिशतभन्दा बढी काम सकिएको इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । भिरालो र चट्टानी ठाँउ भएकोले विस्फोटक पदार्थ प्रयोग गरी सडकको चौडाइ बढाउन लागिएको उहाँले बताउनुभयो ।
राताकाठा क्षेत्रमा सडकको ग्रेडिङ पनि मिलेको थिएन । राताकाठा क्षेत्रमा सय मिटर लामो सडकमा २० मिटरभन्दा बढी उचाईको अनुपात छ । सडकको उचाईको अनुपात घटाउने र सडकको चौडाइ बढाउने काम भइरहेको इन्जिनियर रैखोलाले बताउनुभयो । सडकको उचाई अनुपात घटाएर १२ प्रतिशत पुर्याइएको योजना कार्यालयको भनाई छ ।
विस्फोटक पदार्थ र मेसिन प्रयोग गरेर सडक सुधारको काम भइरहेकोले राताकाठा क्षेत्रमा एक हप्ताभित्रै सडक सुचारु गरिने दार्चुला तिंकर सडक योजनाका सुचना अधिकारी दिनेश रैखोलाले बताउनुभयो । ‘एक हप्ताभित्रै सडक सञ्चालन हुन्छ, सडक सुधारको कार्य अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो ।
राताकाठा क्षेत्रमा गत आर्थिक वर्षमा पनि काम भएको थियो । २०७५ फागुनमा राताकाठामा जीप दुर्घटना भई ११ जनाको ज्यान गएपछि स्थानीय प्रशासनले जीप सञ्चालनमा रोक लगाएको छ । जीप दुर्घटनापछि तिंकर सडक योजनाले राताकाठा क्षेत्रको सडक सुधार सुरु गरेको थियो ।
राताकाठा क्षेत्रमा १४ हजार ६ सय घनमिटर चट्टान फुटाएर सडक सुधार गर्ने प्राविधिक तयारी थियो । गतवर्ष निर्माण कम्पनीले ७ हजार २ सय ९२ घनमिटर मात्रै चट्टान फुटाएको छ । बाँकी काम यसपाली भइरहेको दार्चुला तिंकर सडक योजनाले जनाएको छ ।
राताकाठा क्षेत्रको सडक जोखिमपूर्ण हुँदा दुहुँ र व्यास गाउँपालिकासम्मको यातायात सेवा प्रभावित बन्दैआएको छ । सडक सुधारको जिम्मा पाएको निर्माण कम्पनीको म्याद २०७७ जेठ १७ गतेसम्म भए पनि राताकाठा क्षेत्रमा तत्काल सडक सुधार गरिन लागेको योजना कार्यालयले जनाएको छ ।