राजश्व दाखिलामा डेढ दर्जन कार्यालयको योगदान

0
1993

दार्चुला, पुष २१ गते ।
दार्चुलाका डेढ दर्जन सरकारी कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा राजश्व दाखिलामा योगदान गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाका अनुसार जिल्लास्थित १६ कार्यालयहरुले कार्तिक मसान्तसम्मको अवधिमा राजश्व दाखिला गरेका छन् ।
चार महिनाको अवधिमा सर्वाधिक राजश्व कोष तथा लेखा नियन्त्रक कार्यालयले दाखिला गरेको छ । कोलेनिकाले ५ करोड ५८ लाख ६ हजार ४ सय १९ रुपैयाँ राजश्व दाखिला गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले ६८ लाख ८७ हजार ५५ रुपैयाँ, शिक्षा विकसा तथा समन्वय इकाइले १८ लाख ३२ हजार ९ सय रुपैयाँ र जिल्ला प्रशासन कार्यालयले ५ लाख ९४ हजार १ सय ५० रुपैयाँ राजश्व दाखिला गरेको छ ।
जिल्ला समन्वय समितिको कार्यालयले ५ लाख ५० हजार ९ सय ५, मालपोत कार्यालयले ५ लाख ८ सय, जिल्ला प्रहरी कार्यालयले ४ लाख ३८ हजार ५ सय र दार्चुला तिंकर सडक योजनाले २ लाख ६६ हजार १ सय ८८ रुपैयाँ राजश्व दाखिला गरेको कोलेनिका दार्चुलाका प्रमुख भूपालसिह कार्कीले बताउनुभयो ।
जिल्ला अदालतले ३ लाख ४ हजार २ सय ८०, जिल्ला हुलाक कार्यालयले १ लाख ६६ हजार ६ सय ३०, दुर्गादल गुल्मले १ लाख ८ हजार १ सय २५, नापी कार्यालयले ७९ हजार ५ सय ८६ र महाकाली नदी नियन्त्रण आयोजनाले ३० हजार रुपैयाँ नेपाल सरकारलाई राजश्व संकलन गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले १० हजार ९ सय २६ रुपैयाँ र सबैभन्दा कम स्याउ जोन कार्यालयले ४ हजार ३ सय रुपैयाँ राजश्व दाखिला गरेको कोलेनिका दार्चुलाले जनाएको छ ।
प्रथम चौमासिक अवधिमा कारागार कार्यालय, तथ्यांक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सशस्त्र प्रहरीको ५० नम्बर गुल्म, सिमा प्रशासन कार्यालय र सिमा प्रहरी चौकी लालीले १ रुपैयाँ पनि राजश्व दाखिला गरेका छैनन् । यसैगरी, इलाका प्रहरी कार्यालयहरु गोकुलेश्वर, लटिनाथ र हुतीले पनि कुनै पनि रकम राजश्व दाखिला नगरेको कोलेनिका दार्चुलाको तथ्यांक छ ।