राजमार्गले छोएका दार्चुलाका चार स्थानीय तहहरूमा  ग्रामीण उद्यम आयोजना सञ्चालन हुँदै

0
557

दार्चुला, पुष २५ गते । 
महाकाली राजमार्गले छोएको दार्चुलाका चार स्थानीय तहहरूमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिन लागेको छ ।

शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिन लागेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका प्रमुख तपेन्द्र बहादुर शाहले बताउनुभयो । आयोजना अन्तर्गत उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
आइतबार जिल्ला सदरमुकाम खलंगामा आयोजनाबारे जानकारी दिन सञ्चालन गरिने क्षेत्रका प्रादेशिक र स्थानीय तह/निकायसँग अन्तक्र्रिया गोष्ठी गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, आयोजना सञ्चालन गरिने स्थानीय तहका प्रमुख, कृषि शाखा प्रमुख लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो सम्भाग अन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रो सम्भागमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढवा दिने, तेस्रो सम्भागमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति शृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन हुने, चौथो सम्भाग अन्तर्गत परियोजनाको कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिने कायालय प्रमुख शाहले बताउनुभयो ।
साथै पाँचौँ सम्भागमा आकस्मिक प्रतिकार्यका क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ । यस कार्यक्रमका लागि विश्व बैंकको ऋण सहयोगमा देशभर करिब १४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रममा चालु आर्थिक वर्षमा लक्षित कार्यक्रम, विनियोजित बजेट र कार्यक्रम संचालन प्रकृयाका बारेमा जानकारी गराइनेछ ।
कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशका राजमार्गले छोएको क्षेत्रमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशमा दार्चुला र बैतडीका चार स्थानीय तह, डडेलधुराका ५ स्थानीय तह, कैलालीका तीन स्थानीय तह र डोटीको एउटा स्थानीय तहमा सञ्चालन हुने आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका प्रमुख शाहले बताउनुभयो । आयोजना सञ्चालनका लागि नेपाल सरकार र विश्व बैङ्ककबीच २०७७ पुस ६ गते सम्झौता भएको थियो । कार्यक्रम सन् २०२१ देखि २०२५ सम्म सञ्चालन हुनेछ ।