राजनीतिक आडमा जे गर्दा नि हुने हो ?

814

सम्पादकीय

शक्तिको भरमा सत्ता सञ्चालन गर्ने राणा, पञ्चायत र राजालाई हटायौं र लोकतन्त्रको स्थापना गर्यौं भन्ने शक्तिहरु नै शक्तिको आडमा ‘जे पनि गर्न सक्ने’ हैसियतमा पुगेका छन् ।

राजनीतिक शक्तिको आडमा सरकारी वा अन्य निकायको स्वामित्त्वमा रहेको भौतिक संरचनालाई उपयोग गर्ने कार्यमा जनप्रतिनिधिहरु कसरी लागेका छन् ? भन्ने कुरा हेर्न जिल्ला सदरमुकामका दुई उदाहरणहरु हेरे पुग्छ । जिल्ला सदरमुकाम रहेको महाकाली नगरपालिकाले आफ्नो प्रशासकीय भवन बनाउन सकेको छैन र उसलाई नगरपालिकाको भवन पनि बनाउनु पनि छैन किनभने उसले निजामति कर्मचारी आवस गृहलाई नगरपालिकाको कार्यालय बनाई सकेको छ । आफूलाई राष्ट्र सेवक हुँ र उक्त भवन आफ्नो आवासका लागि हो भन्ने कर्मचारीहरु नगरपालिकाको यस्तो कार्यका बिरुद्ध मधुरो आवाज मात्रै निकाल्छन् किनभने कर्मचारीहरु पनि राजनीतिक भक्तिभजनबाट मुक्त छैनन् । अर्को उदाहरण हो, बाल संगठनको भौतिक संरचना । बाल संगठनको भौतिक संरचनामा निजी विद्यालय सञ्चालन गर्न करार गर्ने तत्कालीन जिल्ला बाल संगठन समितिले आर्थिक हिसाब समेत नबुझाएको आरोप वर्तमान समितिले पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्यो । शिक्षा ऐनको सरकारी स्वामित्त्व रहेको वा सार्वजनिक स्थानमा निजी विद्यालय सञ्चालन गर्न नपाइने नियमको ठाडो उलंघन गर्दै बाल संगठनको स्वामित्त्व रहेको स्थानमा निजी विद्यालय संचालन गर्न करारनामा गर्ने तत्कालीन समिति, यो सम्झौतालाई टुलुटुलु हेर्ने नियमनकारी निकाय र स्थानीय प्रशासन मात्रै नभएर यो सम्झौतामा संलग्न भएको पक्षबाहेक अन्य शैक्षिक, सामाजिक र राजनीतिक दलका नेताहरुका कारण व्यवस्था लोकतान्त्रिक भनिए पनि शक्तिको आडमा अहिले पनि जे पनि गर्ने छुट रहेको प्रस्ट देखाएको छ ।

लाज पचाएरै यस्तो कार्य गर्ने, टुलुटुलु हेर्ने र बिरोधसम्म पनि गर्न नसक्ने जनमानस भएको स्थानमा हामीले सञ्चार माध्यममा पटक पटक उठाएका कुराहरुले महत्त्व नपाउनु स्वभाविक नै हो । श्रमका लागि दास भएकाहरुलाई सचेत पार्न सकिन्छ तर मानसिक र राजनीतिक दासहरुलाई स्वतन्त्र पार्न सकिदैन भन्ने मान्यता यी घटनाहरुले प्रमाणित गरेको छ । आवस गृह नगरपालिकाले कब्जा गर्दा बोल्न नसक्ने कर्मचारीतन्त्र, बाल संगठनको भौतिक संरचनामा निजी विद्यालय संचालन गर्दा बोल्न नसक्ने विद्यार्थी र युवा संघ संगठनहरु तथा यी कार्यका किनाराका साक्षी बस्न बाध्य भएका सरकारी नियकाका प्रतिनिधिहरुको वर्तमान रवैया कायम रहेसम्म शक्तिवालाहरुले जे गरेपनि हुने तथ्यको अन्त्य गर्न सकिने देखिदैन । आफूलाई राजनीतिकर्मी, समाजसेवी र जनप्रतिनिधि भनेर धक्कु लगाउनेहरुले व्यावसायिक फाइदाका लागि यस्ता कार्य गर्नु आफैमा सर्मनाक विषय हो तर हाम्रोमा यसलाई सामान्य रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !