योजना काटिएः एमालेलाई चुनौति !

0
751

सम्पादकीय
सरकारले बजेटको आकार घटायो । फलस्वरुप दार्चुलाका चार सडक योजना नै हटाइए ।

दार्चुला तिंकर सडकलाई महाकाली करिडोरमा राखेर तिंकर सडकको निर्माण कार्य रोकियो भनेर तर्क गर्नेहरु जिल्लाको विकासमा विशेष महत्त्व राख्ने चार सडक योजना नै हटाउँदा अहिलेसम्म सार्वजनिक रुपमा बोलेका छैनन् । पछिल्लो अवस्था नियाल्ने हो भने ‘विकास भर्सेला परोस् सरकार चाहियो’ भन्ने उत्तर सहज देखिन्छ । चार सडक योजना हटाइएको बिरोधमा दार्चुलाका राजनीतिक दलहरुले संयुक्त रुपमा बिरोध जनाउन सक्नु पर्दथ्यो तर नेकपा एमालेका केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाबाहेक अरुले यो विषयमा चुइक्क समेत बोलेका छैनन् । यी सडकहरु सञ्चालन हुनु पूर्व आफूहरुको पहलमा सडक निर्माण सुरु हुन थालेको भन्ने, तालुकदार मन्त्रालयका सचिव र मन्त्रीहरुलाई विज्ञप्ति थमाउँदै फोटो खिच्नेहरु सडक योजनाहरु हटाइदा चुप छन् । विकास नचाहिएकै हो वा यी सडकहरुले जिल्लाको, सम्बन्धित क्षेत्रको विकासमा कुनै किसिमको भूमिका नखेल्ने निष्कर्षमा पुगिएको हो ? एमाले नेता ठगुन्नाले प्रतिपक्षमा रहेको हैसियतले मात्रै यी सडक योजनाहरु हटाइएकोमा बिरोध गरेका हुन् वा जिल्लाको विकासको चाँसोका कारण यो बिरोध गरेका हुन् उनको पार्टीले जिल्ला र स्थानीय स्तरमा गर्ने बिरोधले पुष्टि गर्ने छ । उनको बिरोधलाई साथ दिदै जिल्ला र स्थानीय स्तरमा पनि बिरोधका स्वरहरु देखिने हुन् भने मात्रै एमालेले वास्तविक रुपमा जनतालाई विकासको अनुभूति गराउने योजना हटाइएकोमा बिरोध गरेको रहेछ भन्ने पुस्टि हुनेछ । एमाले सरकारको पाला सुरु भएका योजना हटाइएकाले मात्रै होइन यी सडकहरुले तत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि दार्चुलाले एमालेले यो कार्यको औपचारिक बिरोध गर्नु पर्दछ ।

मल्देशलाई जोड्ने सडक योजना हटाइएको छ । मल्देशमा एमालेको सरकार छ । मल्देशलाई सडक चाहिएको हो वा होइन त्यहाँको सरकारले औपचारिक रुपमा सार्वजनिक बिरोध गर्न सक्नु पर्दछ । महाकाली बेल्टको सडक योजना हटाइएको छ । महाकाली बेल्टले भारतसँग जोडिएका पुलमै चित्त बुझाउने हो कि सेरासम्मको सडक आवश्यक हो । लेकम र मालिकार्जुन गाउँपालिकाले बोल्नु पर्दछ । परमचुली जोड्ने सडक योजना हटाइएको छ । मार्मामा माओवादी केन्द्रको सरकार छ । केन्द्रमा आफ्नो सरकार भएका कारण मार्मालाई यो सडक योजना हटाएकोमा बिरोध नगर्नु पर्ने हो वा मार्मामा पनि बिरोधको स्वर सुनिन्छ ? तिमुरपाटा हुति सडकलाई दुहुँ ब्याँस जोड्ने छोटो र बैकल्पिक सडकका रुपमा हेरिएको थियो र यसको निर्माणको प्रतिक्षा थियो तर योजना हटाइदा बिरोध सुनिएको छैन ।