योजनामा अनियमितता भएको भन्दै उपभोक्ता समिति अध्यक्ष विरुद्ध स्थानियहरुको उजुरी

0
935

बिरा दत्त भट्ट,
मंसिर २६ गते, दार्चुला ।  दुहु गाउँपालिका वडा नं १ पिपलचौरीमा एउटा योजना सम्पन्न नगरि भुक्तानी भएको भन्दै उपभोक्ता समिति विरुद्ध स्थानियहरुले उजुरी गरेका छन् । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बैतडीको आर्थिक सहयोगमा सञ्चालीत पोलिहाउस निर्माण योजनामा उपभोक्ता समिति अध्यक्षले अनियमितता गरेको भन्दै आवस्यक छानविनका लागि हरीयाली कृर्षी समुहले जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिएको छ । कृर्षी ज्ञान केन्द्रबाट सञ्चालीत उक्त २५ लाखको योजनाको उपभोक्ता समिति अध्यक्ष रामसिह महराले रकम हिनामिना गरेको तथा मजदुरहरुको ज्याला समेत नदिएकाले आवस्यक कारवाहीका लागि हरीयाली कृर्षी समुहले प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई निवेदन दिएका छन् । हरियाली कृषि समूहका अध्यक्ष भागरती महराको अध्यक्षतामा मंसिर २२ गते बैठकले कारबाही गर्ने निर्णय गरेको थियो । साथै कृषि समूहका अध्यक्ष भागरती महराको अध्यक्षतामा नयाँ समिति पनि गठन गरेको छ ।
विहिबार योजनाको अनियमितता बारे जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन आएकाले आवस्यक छानविनका लागि दुहु गाउँपालिकालाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो । स्थानिय उपभोक्ताहरुको उजुरीको आधारमा गाउँपालिकालाई छानविनका लागि पत्राचार गरेका छौ, छानविनको रिर्पाेट पछि आवस्यक कारवाही हुन्छ, उहाँले भन्नुभयो ।
५० प्रतिशत कृषि ज्ञान केन्द्र बैतडी र ५० प्रतिशत कृषकको लगानीमा निर्माण गर्नुपर्ने पोलिहाउस र गोठ सुधार कार्यक्रम सम्पन्न नहुदै भुक्तानी भएको योजना उपभोक्ता समिति अध्यक्ष रामसिंह महरले समेत स्वीकारेका छन् । सम्झौता अनुसार दुहूँ गाउँपालिका वडा नम्बर १ पीपलचौरी बसपालीमा ६० ओटा पोलिहाउस निर्माण गर्नुपर्ने र ३० ओटा गोठ सुधार गर्नुपर्ने कार्यक्रम थियो । ६० ओटा पोलिहाउस निर्माण र ३० ओटा गोठ सुधार गर्नुपर्ने सम्झौता भएपनि १८ ओटा पोलिहाउस निर्माण गर्न बाँकी रहेको उपभोक्ता समिति अध्यक्ष महरले कुराकानीमा स्वीकार गरेका थिए ।
हालसम्म १८ ओटा पोलिहाउस निर्माण सम्पन्न नभएपनि कृषि ज्ञान केन्द्र बैतडीले गत आर्थिक वर्षकोे असार मसान्तमै भुक्तानी दिएको छ । असार मसान्तमै करकट्टी गरेर २४ लाख ६४ हजार रुपैयाँ भुक्तानी लिएको उपभोक्ता समिति अध्यक्ष महरले बताएका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्माण सम्पन्न हुन बाकि रहेको तथा हाल निर्माणका लागि सामग्री ढुवानी भइसकेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट आवस्यक छानविनको औपचारीक पत्र दुहुँ गाउँपालिकामा नपुगेको दुहुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बमंको भनाई छ । योजनामा विवाद केहि पहिलेदेखि नै उठेकाले गाउँपालिकाबाट कृर्षी प्राविधिकलाई सत्यतथ्य बुझ्न पठाएको उहाँको भनाई छ । योजनाको काम सम्पन्न नगरि भुक्तानी लिएको भन्ने जानकारी आएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको भनाई छ । कृर्षी ज्ञान केन्द्रबाट सञ्चालीत योजना भएकाले उक्त योजनाको प्रक्रियाबारे बुझ्न कृर्षी ज्ञान केन्द्र बैतडीबाट योजनाको फाइन झिकाएको उहाँको भनाई छ । कृर्षी ज्ञान केन्द्रबाट योजनाको सम्पुर्ण जानकारी आएपछि आवस्यक छानविन गरिने गाउँपालिका अध्यक्ष पुलेन्द्र कार्कीको भनाई छ ।
उक्त योजनामा अनियमितता भएको आवाज उठेकाले सत्य कुराको छानविन गरिनुपर्ने हामी नेपाली हाम्रो नेपालका जिल्ला संयोजक नरेन्द्र सिह धामीको भनाई छ । जिल्लाका अन्य ठाउँका योजनाहरुमा पनि अनियमितता भएको हुन सक्ने भन्दै जनताले सचेत हुनुपर्ने उहाँको भनाई छ । पिपलचौरीको यस योजनामा पनि हामी नेपाली हाम्रो नेपाल अभियानले अनियमितता भएको तथ्य बाहिर ल्याएको थियो ।