युवा काँग्रेसः अवसर कि बैंक ?

715

सम्पादकीय
नेपाली काँग्रेसको आसन्न महाअधिवेशन कार्यक्रम अन्तर्गत सम्पन्न भएका वडा अधिवेशनहरुले युवाहरुमा नयाँ तरङ्ग ल्याएको छ ।

दार्चुलाका एकसठ्ठी वडाबाट नौं सय छहत्तर प्रतिनिधि छनोट भएका छन् । तिनीहरुले वडा, पालिका, जिल्ला कार्य समिति, प्रदेश सभा, प्रतिनिधि सभा र केन्द्रीय महाअधिवेशन प्रतिनिधि चयन गर्ने छन् । नेपाली काँग्रेसका चार हजार चार सय पचहत्तर क्रियाशील सदस्यहरुले जिल्लामा नौं सय छहत्तर प्रतिनिधि छनोट गरेका छन् भने वडा कार्य समितिको पनि टुङ्गो लगाएका छन् । वडा अधिवेशनहरुले साठी वडामा सर्वसम्मत र सहमतिका आधारमा नेतृत्वसहित प्रतिनिधिको छनोट भएको छ भने एक वडामा मतदान भएको समाचारहरुले जनाएका छन् । नेपाली काँग्रेसको आसन्न महाअधिवेशन नेपाली काँग्रेसको नेतृत्व चयनका दृष्टिकोणबाट मात्रै महत्त्वपूर्ण छैन देशमा संघीयता कार्यान्वयनपछि अधिवेशनमार्फत नेतृत्व चयन गर्ने पार्टी पनि नेपाली काँग्रेस भएकाले उसले वडा तहदेखि नेतृत्व चयन गर्ने प्रक्रियालाई अन्य दलहरुले पनि गम्भीरताकासाथ अध्ययन गर्ने मौका पाएका छन् । यो अधिवेशन माथिका यी दुई कारणले मात्रै चर्चामा नभएर वडा तहमा आएका युवा प्रतिनिधिहरुका कारण पनि यो अधिवेशन चर्चामा छ । सोह्र जनामध्ये छदेखि दश जनासम्म युवा काँग्रेसको प्रतिनिधित्व भएको छ भने तीमध्ये पनि कतिपय त पछिल्लो समय मात्रै क्रियासील सदस्यता लिएर नेपाली काँग्रेसको राजनीतिमा आएका युवाहरु छन् ।

राजनीतिलाई युवाहरुले चाँसो र चिन्ताको विषयमा रुपमा नलिने प्रवृत्ति बढ्दै गर्दा नेपाली काँग्रेसको अधिवेशनमा कयन ठाउँमा नेतृत्व लिँदै युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य पक्ष देखिन्छ । युवाहरुलाई राजनीतिक प्रशिक्षणसहित संगठन निर्माणमा, नीति तथा कार्यक्रम निर्माणमा र नेतृत्व चयनमा ल्याउनु आफैमा सकारात्मक पक्ष हो । यसले युवाहरुमा उपेक्षाको विषय बनेको राजनीतिको विषयलाई अपेक्षाको विषय बनाउने र भविष्यमा राजनीतिक संस्कारसहितको नेतृत्वले सरकार हाँक्ने वातावरण सिर्जना गर्ने छ । बहुलदीय व्यवस्था पुनस्र्थापनाका लागि आन्दोलन गरेका नेताहरुबाहेक काँग्रेसको राजनीतिमा पछिल्लो पुस्तालाई सहभागि गराउने कामले अपेक्षासँगै वर्तमानको राजनीतिक संस्कारले केही यक्ष प्रश्नहरु पनि खडा गर्ने देखिन्छ । खासगरि सकिदै गएको राजनीतिक संस्कार र विकसित हुँदै गएको स्वार्थको राजनीतिका कारण युवाहरुले अपेक्षा गरेको स्वच्छ नेतृत्व चयन र सैद्धान्तिक नीति कार्यक्रमको पक्षमा युवाहरुहरु क्रियाशील हुन् सक्लान् कि नसक्लान्, कतै नेताहरुले वर्तमानको राजनीतिक अवस्था जस्तै युवाहरुलाई भोट बैंकका रुपमा मात्रै प्रयोग त गर्ने होइनन् ? भन्ने प्रश्नहरुलाई प्रतिनिधिमा आएका युवाहरुले सोच्नु पर्ने हुन्छ । राजनीतिक वा अन्य स्वार्थले प्रतिनिधि भएका हुन् वा नेताहरुको भोट बैंकका रुपमा प्रतिनिधि छनोट भएका हुन् त्यस्ता युवाहरुबाट सैद्धान्तिक, वैचारिक र आर्दशको राजनीतिको अपेक्षा नगरेपनि हुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !