यार्सा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने 

0
491

दार्चुला, बैशाख १६ गते ।


हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरिएको कार्यालय प्रमुख गणेश पौडेलले बताउनुभयो ।

दार्चुलामा हिमाली क्षेत्रका नागरिकहरु बैशाख देखि असार सम्म हिमाली क्षेत्रमा गएर वर्षौ देखि यार्सा गुम्बा संकलन गर्दै आइरहेका छन् ।  कोरोना महामारीका कारण पछिल्लो दुई बर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो । यस पटक यार्सा सङ्कलनका लागि वन खोलिएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
बैशाख १५ गते देखि यार्सागुम्बा सङ्कलनका लागि अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख पौडेलले बताउनुभयो । विगतका बर्षहरुमा सम्बन्धि स्थानीय तह र अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय विच यार्सा संकलन अनुमति पत्रका लागि विवाद हुने गरेको थियो । संरक्षण क्षेत्र कार्यालय र स्थानीय तहहरुले अनुमति पत्र जारी गर्दा संकलकहरु अनुमति लिन दोधारमा पर्ने गरेका थिए । यस पटक भने हाल सम्म संरक्षण क्षेत्र कार्यालयले मात्रै यार्सा सङ्कलनका लागि अनुमति पत्र जारी गरेको छ । कानुनी रुपमा संरक्षण क्षेत्रलाई नै यार्सा संकलन अनुमति पत्र वितरण गर्ने अधिकार रहेको कार्यालय प्रमुख पौडेलको भनाई छ ।
केही यार्सागुम्बा संकलकहरु बैशाख पहिलो हप्ता देखि नै यार्सा पाटन पुगिसकेका छन् । संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो हप्ता देखि असार सम्म बढीमा ३० दिन अवधि मात्रै तोकेको छ । यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अनुगमन गर्ने भएकाले अनिवार्य रुपमा सबैलाई अनुमति पत्र लिन उहाँले अनुरोध गरेका छन् ।
संरक्षण क्षेत्र भित्रका यार्सा संकलकहरुले प्रतिव्यक्ति ५ सय, संरक्षण क्षेत्र बाहिरकाले २ हजार र जिल्ला बाहिरका यार्सा गुम्बा संकलकहरुले परिचयपत्र लिनका लागि ३ हजार रुपैयाँ रकम तिनुपर्नेछ । परिचय पत्र लिदाँ पासपोट साइजको फोटो २ प्रति र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राख्नुपर्ने छ । संकलन अनुमति विना यार्सागुम्बाको संकलन र ओसारपसार गरेमा यार्सा गुम्बा जफत गरि कानुन बमोजिम कारवाही गरिने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । यार्सा गुम्बा संकलनका लागि यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान नपाइने तथा खुला रुपमा दिशापिसाब गर्न पाइने छैन । संकलन अवधिमा कुनै वन पैदावारको हानी नोक्सानी, वन्यजन्तुको चोरी सिकार गरेमा कानुन बमोजिम कारवाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।