यार्सा संकलन गर्दा ज्यान गुमाएका दुई जनाको परिवारलाई विमा बाफतको रकम हस्तान्तरण

703

विरा दत्त भट्ट
दार्चुला, चैत्र २ गते ।
हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले विमा बाफतको रकम हस्तान्तरण गरेको छ ।

अपीनाम्पा संरक्षण क्षेत्र भित्र रहेका ब्यास गाउँपालिका र अपिहिमाल गाउँपालिकाको यार्सा पाटनहरुमा यार्सा संकलन गर्न जाने ब्यक्तिहरुको हुने घटनालाई लक्षित गर्दै अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सामुहिक दुर्घटना विमा गरेको थियो । अपी नाम्पा संरक्षण क्षेत्रबाट संकलन अनुमती पत्र लिएर जाने यार्सा संकलकका साथै यार्सा फाटमा जाने प्रहरी, कर्मचारी, परिषदका अधिकारी तथा पत्रकारको समेत विमा गरिएको थियो ।
जस अन्र्तगत कार्यालयले चार जना प्रहरी, तीन जना कर्मचारी, २ जना परिषदका पदाधिकारी, एक जना पत्रकार र १० जना यार्सागुम्बा संकलनकर्ताहरुको प्रति विमाङ्क १० लाखका दरले सामुहिक दुर्घटना विमा गरेको थियो । सो बर्षमा दुई जना यार्सा संकलन कर्ताहरुको संकलनका क्रममा मृत्यु भएको थियो । नौगाड गाउँपालिका वडा नं ४ का बर्ष १८ का शेर सिह बोहरा अपिहिमाल गाउँपालिका वडा नं १ को तालगाड डाडा रोखापु भन्ने यार्सा पाटनमा यार्सा संकलनका क्रममा भिरबाट खस्दा २०७६ जेठ २९ गते मृत्यु भएको थियो ।
अर्का नौगाडा गाउँपालिका वडा नं २ का बर्ष ३५ का शेर सिह ठगुन्नाको अपिहिमाल गाउँपालिकाको क्षेत्ति यार्सापाटनमा यार्सा संकलनका क्रममा २०७६ असार १८ गते मृत्यु भएको थियो ।

यार्सा संकलकहरुको मृत्यु भएपछि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले सोहि समयमा सामुहिक दुर्घटना विमा सम्झौता भएको विमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी धनगढीलाई सम्झौता अनुसार विमाङ्क दिन पत्राचार गरेको थियो । तर विमा कम्पनीले झण्डै एक बर्षको समय लगाएर सम्झौता भन्दा आधा रकम उपलब्ध गराएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । विमा वाफतको रकम भुक्तानीका लागि विमा कम्पनीले आनाकानी गरिरहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका पुर्व संरक्षण अधिकृत किसोर कुमार मेहताको भनाई थियो ।
विमा कम्पनीले उपलब्ध गराएको प्रति ब्यक्ति ५/५ लाखको चेक मृतकका आफन्तहरुलाई हस्तान्तरण गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले जानकारी दिनुभयो । उक्त चेक प्रमुख संरक्षण अधिकृतले मृतक शेर सिह ठगुन्नाको श्रीमती कलावती ठगुन्नालाई र मृतक शेर सिह बोहराको उनका बुवा जयभान सिह बोहरालाई हस्तान्तण गरिएको अपी नाम्पाका कर्मचारी पदम राज भट्टले जानकारी दिनुभयो ।
विमा कम्पनीले लामो समय देखि अड्काएको रकम अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको लामो प्रयास पछि पाइएको भन्दै आफन्तले प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेलाई धन्यबाद दिएका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस् !