यार्सा संकलकको वीमा भुक्तानीमा आनाकानी

2200

दार्चुला, माघ १६ गते ।
प्रुडेन्सियल वीमा कम्पनीले दुइजना यार्सा संकलनको दुर्घटना वीमा भुक्तानी गर्न ६ महिनादेखि आनाकानी गरिरहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले गत असार महिनामै वीमा रकम भुक्तानीको फाइल पठाइए पनि अहिलेसम्म भुक्तानी नभएको बताएको छ ।
यार्सा संकलनको गत सिजनमा पहिलो पटक १० जना यार्सा संकलकहरुको दुर्घटना वीमा गरिएको थियो । ४ जना प्रहरी, ३ कर्मचारी, २ व्यवस्थापन परिषद्का पदाधिकारी र एकजना पत्रकारको समेत अपिनाम्प संरक्षण क्षेत्र कार्यालयले दुर्घटना वीमा गराएको थियो ।
यार्सागुम्बा संकलनको क्रममा हुनसक्ने जोखिमलाई लक्षित गरी दुर्घटना वीमा गरिए पनि वीमा रकम भुक्तानीमा कम्पनीबाट ढिलाइ भएको प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताउनुभयो । ‘हामीले असार महिनामै आवश्यक कागजपत्रसहित फाइल पठाएका थियौं, तर हालसम्म भुक्तानी गरिएको छैन’ उहाँले भन्नुभयो ।
यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको क्षेत्तिमा नौगाड गाउँपालिका वडा नम्बर २ का ३५ वर्षिय शेर सिंह ठगुन्नाको मृत्यु भएको थियो । यार्सा संकलन गर्न हिमाली क्षेत्रको गएको बेला असार १८ गते ठगुन्ना मृत भेटिएका थिए ।
यसैगरी, अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ तालगाड डाडा क्षेत्रमा नौगाड गाउँपालिका वडा नम्बर ४ का १८ वर्षिय शेरसिह बोहराको मृत्यु भएको थियो । बोहराको यार्सा संकलनको क्रममा लडेर जेठ २९ गते मृत्यु भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
यार्सा संकलनको क्रममा मृत्यु भएका दुबैजनाको वीमा रकम भुक्तानीका लागि दावी गरिएको छ । साथै, घाइते भएका ४ जनाको पनि उपचार खर्च दावी गरिएको छ । वीमा कम्पनीले भने कसैको पनि रकम भुक्तानी गरेको छैन । धेरै पटक धनगढीस्थित वीमा कम्पनीमा धाए पनि रकम भुक्तानी नभएको मृतक शेरसिह ठगुन्नाका भतिजा हरे ठगुन्नाले बताउनुभयो ।
मृतकका आफन्तजनले रकम नपाएपछि सोमबार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई गुहारेका छन् । प्रजिअ पौडेलले अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र वीमा कम्पनीसंग छलफल गरी पीडितलाई रकम दिलाइने बताउनुभयो ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र प्रुडेन्सियल वीमा कम्पनीबीच वैशाख १२ गते सामूहिक दुर्घटना वीमाको सम्झौता गरिएको थियो । सम्झौताअनुसार दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने व्यक्तिको उपचार वीमा कम्पनीले गर्नुपर्ने प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता बताउनुहुन्छ ।
वीमा कम्पनीका धनगढीस्थित प्रतिनिधि वोधराज ओझाले आवश्यक प्रक्रिया र कागजपत्र नपुगेकोले भुक्तानी हुन नसकेको बताउनुहुन्छ । यार्सा संकलकहरुको सम्पूर्ण विवरण र मागदावी फारम वीमा कम्पनीमा नपुगेको उहाँको भनाई छ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता भने २३ प्रकारका कागजपत्र तयार गरी वीमा कम्पनीमा फाइल पठाएको बताउनुहुन्ुछ । ‘हामीले सबै कागजपत्र पठाएका छौ, कुन कागजपत्र अपुग छ भन्नुपर्यो हामी तत्काल दिन्छौ तर वीमा रकम पीडित परिवारलाई भुक्तानी गरिनुपर्छ’ मेहताको भनाई छ ।
वीमा कम्पनीलाई अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले २० जनाको सामूहिक दुर्घटना वीमावाफत ८४ हजार ७ सय ७२ रुपैयाँ ६० पैसा वीमा कम्पनीलाई भुक्तानी गरेको थियो । वीमा कम्पनीले मृतकका हकवालालाई १० लाखका दरले बढीमा २ करोडसम्म भुक्तानी गर्ने कबोल गरेको सम्झौता छ ।
सम्झौताको द्विअर्थी व्याख्या
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र प्रुडेन्सियल वीमा कम्पनीबीच भएको सम्झौताको व्याख्या फरक ढंगले गरिन लागिएको छ । वीमा कम्पनीले जम्मा २० जनाको दुर्घटना वीमा गरिएकोले वीमा गरिएका २० जनाभित्रका व्यक्तिको मृत्यु भएमा मात्र रकम भुक्तानी गर्ने बताउन थालेको छ ।
वीमा कम्पनीका धनगढीस्थित प्रतिनिधि बोधराज ओझाले निर्धारित २० जनामध्येको मृत्यु भएमा मात्रै भुक्तानी हुने बताउनुभयो । साथसाथै, कागजपत्र र प्रक्रिया पूरा गरेमा वीमा रकम भुक्तानी हुने द्विअर्थी कुरा पनि ओझाले गरेका छन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख किशोरकुमार मेहताले भने हजारौं यार्सा संकलकहरुमध्ये ज्यान गुमाउने र घाइते हुने वढीमा १० जनाका लागि वीमा गरिएको बताउनुभयो । ‘कुन कुन मान्छेको दुर्घटना हुन्छ भन्ने पहिला नै यकिन हुदैन, यार्सा संकलनका गएका हजारौंमध्ये जस्को मृत्यु हुन्छ त्यसै व्यक्तिको वीमा हुन्छ’ उहाँले भन्नुभयो ।
दुर्घटना वीमामा व्यक्ति नतोकेर पद र संख्या तोकिएको उहाँले बताउनुभयो । ‘प्रहरी र कर्मचारीको पनि संख्या तोकिएको छ, जो पनि प्रहरी वा कर्मचारी दुर्घटना पर्छन् तिनले वीमा रकम पाउछन्’ मेहताको भनाई छ । सामूहिक दुर्घटना वीमाको अर्थ नै धेरैमध्ये जुनसुकैको पनि वीमा गरिनु भएको उहाँले बताउनुभयो ।
‘निर्धारित संख्याभन्दा बढी वीमाको भुक्तानी दावी गर्न मिल्दैन, दावी गरेका पनि छैनौ तर वीमा गरिएको संख्याअनुसार वीमा भुक्तानी गर्नुपर्ने हुन्छ’ प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो । वीमा कम्पनीले रकम भुक्तानीमा ढिलाइ गरे कानुनी कारवाही गरिनेसमेत उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !