यस्तो बन्दैछ नेकपाको दार्चुला जिल्ला कमिटी

0
2701

दार्चुला, भदौ ३ गते ।
एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणपछि पहिलो पटक जिल्लास्तरमा एकीकरणको तरंग पुग्दैछ । अहिलेसम्म केन्द्रसम्म मात्रै सीमित रहेको पार्टी एकता प्रदेश हुँदै जिल्ला तहसम्म पुग्न लागेको छ । दार्चुलामा नेकपाको १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएको छ ।
नेकपाको जिल्ला र प्रदेश कमिटी चयनको गृहकार्यमा अहिले सबैजसो नेताकार्यकर्ता व्यस्त छन् । पद र भूमिका पाउनका लागि भेटघाट र छलफलमा नेताहरु जिल्लादेखि काठमाण्डौसम्म समेत व्यस्त छन् । तत्कालिन एमाले र माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज र संयोजकहरु सम्मिलित कार्यदलले जिल्ला कमिटीको पदीय भागवण्डा टुंग्याएको छ ।
कार्यदलको सहमतिअनुसार दार्चुलामा जिल्ला अध्यक्ष माओवादी केन्द्रबाट र सचिव एमालेबाट हुने भएका छन् । पदीय भागवण्डा टुंगिएपछि जिल्ला नेतृत्वको दौडमा पनि परिवर्तन देखिएको छ । वरिष्ठताका आधारमा एकीकृत पार्टीको जिल्ला नेतृत्वमा पुग्ने आकलन गरिएका एमालेका तत्कालिन जिल्ला अध्यक्ष रामदत्त जोशी अध्यक्षको दौडबाट बाहिरिएका छन् । माओवादी केन्द्रको भागमा अध्यक्ष पद परेपछि जोशीको अध्यक्ष पदको यात्रा सकिएको हो । जोशी प्रदेश कमिटीको सचिवालय सदस्य बन्ने सम्भावना रहेको स्रोतले बतायो ।
माओवादी केन्द्रमा अध्यक्ष कस्लाई बनाउनेबारे सर्वसम्मति भएको छैन । तत्कालिन जिल्ला इन्चार्ज मानवहादुर धामी सन्तोषले जिल्ला अध्यक्षमा रामदत्त जोशी आरडीको नाम प्रस्तावित गरेका छन् भने कार्यदलका सदस्य लक्ष्मणदत्त जोशीले गणेशसिह खत्रीलाई अध्यक्षमा प्रस्तावित गरेका छन् ।
जिल्ला कमिटीमा अध्यक्ष र सचिव दुईजना मात्रै पदाधिकारी रहने व्यवस्था छ । दुई पदाधिकारीसहित ७ सदस्यीय कार्यालय बनाइने छ । अध्यक्षसहित ४ जना माओवादीबाट र सचिवसहित ३ जना एमालेबाट कार्यालयको नेतृत्व गर्नेछन् । एमालेले जिल्ला कार्यालयमा उदयसिह बडाल, ज्ञानेन्द्र घर्ति र मोहनसिह धामीको नाम प्रस्तावित गरिएको छ ।
१ सय ३५ सदस्यीय जिल्ला कमिटीबाट एमालेबाट ७५ जना र माओवादीबाट ६० जना रहनेछन् । एमालेले ७० जनाको नामावली समेत टुंगो लगाइसकेको स्रोतले बतायो । तर टुंगो लागिसकेको नामावली सार्वजनिक भने गरिएको छैन । यसैगरी एमालेको भागमा परेको सचिव पदमा कस्लाई जिम्मेवारी दिने विषय टुंगो लाग्न बाँकी छ । सचिव पदमा ज्ञानेन्द्र घर्ति, मोहनसिह धामी, उदयसिह बडाल र जहेन्द्रसिह ऐतवालको नाम चर्चामा छ ।
४५ सदस्यीय सचिवालयमा एमालेबाट २५ जना र माओवादीबाट २० जना रहनेछन् । एमालेले सचिवालयमा बस्ने नेताहरुको गोप्यसुची समेत तयार पारिसकेको छ । माओवादीभित्र दुइटा फरक धार रहेकाले नामावली टुंगो लाग्न बाँकी रहेको स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here