यस्ता छन् चार करोडका योजनाहरु

3042

दार्चुला, मंसिर १३ गते ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दार्चुलामा २० वटा योजना छनोट गरिएका छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुलाका स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रमका लागि ४ करोड बजेट रहेको छ ।
प्रतिनिधिसभाका सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रसाद बडूको सहमतिमा छनोट गरिएका योजनाहरुमध्ये दुइटा योजना ५०—५० लाखका छन् । दुहुँ गाँउपालिकाको वडा नम्बर ३ स्थित जनविकास मावि बारबाजमा छात्रावास निर्माणमा ५० लाख रुपैयाँ र दत्तु—थाप्ला—भगवती—मालिकार्जुन सडक निर्माणमा ५० लाख रुपैयाँ छुट्याइएको छ । दत्तु—थाप्ला खण्डमा २५ लाख रुपैयाँ र मालिकार्जुन—भगवती खण्डमा २५ लाख रुपैयाँ खर्च गरी सडक निर्माण गरिने जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्कीले बताउनुभयो ।
मार्मा गाँउपालिकाको वडा नम्बर ६ पत्थरकाडामा बाटो निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ । दुहुँगाँउपालिकाको वडा नम्बर ३ तिमुरपाटादेखि गैरीसम्मको बाटो निर्माणमा १५ लाख, शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीदेखि बजानीसम्मको बाटो निर्माणमा १३ लाख र महाकाली नगरपालिका वडा नम्बर ५ मल्लो किम्तडी बाटो निर्माणमा ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
दुहुँ गाँउपालिकाको वडा नम्बर ३ र महाकाली नगरपालिकाको वडा नम्बर १ को सीमाक्षेत्र श्रीबगर तपोवन मसानघाट जाने बाटो निर्माणमा १५ लाख, नौगाड गाँउपालिका वडा नम्बर ४ चुकान खानेपानी योजनामा १० लाख बजेट राखिएको छ ।
शिक्षा क्षेत्रअन्तर्गत महाकाली नगरपालिका वडा नम्बर ४ स्थित कैलाशपति आधारभूत विद्यालयको घेरपर्खाल तथा शौचालय निर्माणमा १५ लाख, लेकम गाँउपालिका वडा नम्बर ४ स्थित आधारभूत विद्यालय टकनाको भवन निर्माणमा १७ लाख, नौगाड गाँउपालिका वडा नम्बर ४ स्थित गणेश विनायक मावि सिप्टीको फिल्ड निर्माणमा २० लाख र अपिहिमाल गाउपालिका वडा नम्बर १ काे अाधारभुत विद्यालय सितिकाे भवन निर्माणमा २० लाख बजेट रहेको छ ।
धार्मिकक्षेत्रअन्तर्गत तीनवटा योजना राखिएका छन् । व्यास गाँउपालिकाअन्तर्गत नौलो मन्दिर हुती र द्धालपाटा मन्दिर डोकट निर्माणमा १० लाख, मार्मा गाँउपालिकाको गुल्जर ताकुमा पर्ने प्रसिद्ध दुर्गा मन्दिर निर्माणमा १० लाख र महाकाली नगरपालिका वडा नम्बर ५ ऐरीटोलको संस्कृति सम्वद्र्धन मन्दिर निर्माणमा १० लाख बजेट विनियोजन गरिएको छ ।
विकासको मेरुदण्ड मानिएको सडक निर्माणको क्षेत्रमा ३ वटा योजना छन् । ५० लाख बजेट विनियोजन गरिएको दत्तु—थाप्ला—भगवती—मालिकार्जुन सडकका साथै शैल्यशिखर नगरपालिकाअन्तर्गतको देथला—रानीशिखर—आगर सडक र मालिकार्जुन र लेकम गाँउपालिका जोड्ने भर्तोला—उकु—लाली सडक निर्माण सुधारमा ३०÷३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । भर्तोला—उकु—लाली सडकका लागि विनियोजित मध्ये मालिकार्जुन गाँउपालिकाको क्षेत्रमा २० लाख र लेकम गाँउपालिकाको क्षेत्रमा १० लाख रुपैयाँ बजेट खर्च गरिने योजना छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा सहकारी भवन निर्माणमा १० लाख र महाकाली नगरपालिका वडा नम्बर १ लास्कुखाेला जलविद्युतमा १६ लाख रूपैया बजेट विनियाेजन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !