म्यादी प्रहरीका लागि दार्चुलामा झण्डै दुई हजार जनाले दिए आवेदन 

536
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, चैत्र १२ गते । 
स्थानियत तहको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा झण्डै दुईहजार जनाले आवेदन दिएका छन् । चैत्र ६ गते देखि ११ गते सम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो ।

दार्चुला जिल्लामा ७ सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बर जनाले दरखास्त दिएका छन् । दरखास्त दिएकाहरुका लागि चैत्र १३ गते सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरूले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा रहेकाहरुले १३ गते नै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु आवश्यक छैन, नजिकको प्रहरी चौकी वा प्रहरीको १०० नम्बरमा फोन गरेर पनि सम्पर्क गर्न सकिन्छ, उहाँले भन्नुभयो । दरखास्त दिएकाहरुको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस् !