मिडिया विकास समाजको साधारणसभा सम्पन्न

0
2259

दार्चुला, मंसिर १५ गते ।
दार्चुला जिल्लामा सुशासन र सञ्चारको क्षेत्रमा क्रियासिल नागरिक संस्था मिडिया विकास समाज नेपाल, दार्चुलाको एघारौं साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमसिह बडालको अध्यक्षतामा भएको साधारणसभाले आधा दर्जन प्रस्ताव पारित गरेको संस्थाका कार्यकारी निर्देशक शंकरसिह धामीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगति प्रतिवेदन र वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि साधारणसभामा छलफल भई पारित भएको जनाइएको छ । संस्था र संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो नयाँ नेपाल एफएमको अवस्थाबारे गम्भीर छलफल गरिएको कार्यकारी निर्देशक धामीले बताउनुभयो ।
संस्थाले साधारणसभासंगै रेडियोको आठौं वार्षिकोत्सव कार्यक्रम पनि आयोजना गरेको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम, बजेट र कार्ययोजना समेत साधारणसभाको बन्दसत्रले पारित गरेको महासचिव दिपेन्द्रसिह धामीले जानकारी दिनुभयो ।
बन्दसत्रमा संस्था अध्यक्ष पदमसिह बडाल, महासचिव दिपेन्द्रसिह धामी, सल्लाहकार लोकेन्द्रवहादुर बम, कार्यकारी निर्देशक शंकरसिह धामीलगायतले मन्तव्य राख्नुभएको थियो ।
साधारणसभा तथा रेडियोको वार्षिकोत्सव उद्घाटन समारोहमा जिल्ला समन्वय समिति दार्चुलाका उपप्रमुख कृष्णसिह धामी प्रमुख अतिथि रहनुभएको थियो । नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपाका नेता नारायणदत्त भट्ट, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मनवीर दमाई, विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष चक्रवहादुर बमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक धाना धामी, अन्तरपार्टी महिला सञ्जाल दार्चुलाका अध्यक्ष हिरादेवी अवस्थी, महिला मानवअधिकार रक्षक सञ्जाल दार्चुलाका अध्यक्ष गौरी बडाल, नेपाल पत्रकार महासंघका प्रदेश सचिव प्रेम चुनारा, संस्था र रेडियोका सल्लाहकार लोकेन्द्रवहादुर बमले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।