माहुरीपालन पकेटक्षेत्रको समिति गठनमा विवाद

2035

दार्चुला, पुष १५ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा सञ्चालन गर्न लागेको माहुरीपालन पकेट क्षेत्रको समूह गठन विवादित भएको छ । वडा कार्यालयको आयोजनामा आज भएको सरोकारवालाको भेलाले सर्वसम्मतिले समन्वय समिति गठनमा सर्वसम्मति हुन सकेको छैन ।
वडाअध्यक्ष गौरसिह बोहराको अध्यक्षता भएको भेलामा अमरसिह बोहराको नेतृत्वमा माहुरीपालन पकेट क्षेत्रको समन्वय समिति गठन गरिएको छ । बैठकका केही सहभागीले भने समिति गठनमा आफुहरुको सहमति नभएको बताएका छन् ।
वडाअध्यक्ष बोहराले भेलाका सहभागीहरुबीच छलफल गराएर समिति गठन गरेको दावी गरेका छन् । समितिको उपाध्यक्षमा पदमसिह धामी, कोषाध्यक्ष तारादत्त जोशी र सदस्यहरुमा खडकसिह चैसिर, ज्योति बोहरा र पशुपति धामी चयन गरिएको वडाअध्यक्ष गौरसिह बोहराले बताउनुभयो ।
समन्वय समिति गठनबारे भेलामा छलफल गरिए पनि सबैको सहमतिअनुसार समिति गठन नगरिएको भर्तोलाका स्थानीय भोजराज पन्तले बताउनुभयो । ‘अधिकांश सहभागीहरुको सहमतिविना मौखिक रुपमा समिति घोषणा गरिएको छ, यो हामीलाई स्वीकार्य छैन’ पन्तले भन्नुभयो ।
भेलाका अधिकांश सहभागीले माइन्युट पुस्तिकाको उपस्थितिमा हस्ताक्षर गरे पनि समिति चयनलाई अनुमोदन नगरेको उहाँले बताउनुभयो । ‘सम्बन्धित निकायमा यसबारे जानकारी गराएर विधि र प्रक्रियाअनुसार समिति गठन गराइने’ पन्तको भनाई छ ।
प्रदेश सरकारले मुख्यमन्त्री कृषि कार्यक्रमअन्तर्गत मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोला क्षेत्रमा माहुरीपालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !