मालिकार्जुन वस दुर्घटना ः एकको मृत्यु, एक अस्पताल भर्ना, सात रिफर, दश घर फर्के

0
2476

दार्चुला, मंसिर ७ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छालेकमा शुक्रवार बिहान मिनिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
स्थानीय मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने क्रममा बिहान करिब साढे ३ बजेतिर तेर्छालेकमा म १ ख ४३६ नम्बरको मिनिबस सडकबाट करिब ३ सय मिटर तल खस्दा थप १८ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका मध्येबाट १ जनाको मृत्यु भएको ४ जना गम्भीर घाइते, ३ जना मध्यम खाले घाइते र १० जना सामान्य घाइते भएको गोकुलेश्वर अस्पताका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा. रोशन भगत चौरसियाले जानकारी दिनुभएको छ । गम्भीर घाइते र मध्यम खाले घाइतेलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको डा. चौरसियाले जानकारी दिनुभएको छ ।
घाइतेमध्ये १ जनालाई गोकुलेश्वर अस्पतालमा भर्ना गरिएको र अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको डा. चौरसियाले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा उत्तराखण्ड पिथौरागढ जिल्ला अस्कोट भारतका अनिल पाल रहेका छन् । गम्भीर घाइते भई उपचारका लागि नेपालगञ्ज पठाइएका मृत पालका श्रीमती मञ्जु पाल, लेकम गाउँपालिका वडा नम्बर ४ का लक्ष्मी कुवँर नाम गरेका दुई जना, सोही गाउँपालिका वडा नम्बर ५ का दौलतसिह कुवँर, वडा नम्बर ८ का भुपेन्द्र धामी, रमेश धामी र धिरेन्द्र धामी रहेका छन् ।
गम्भीर घाइतेहरुलाई दिउँसो डेढ बजेतिर सेनाको हेलिकोप्टर मार्फत थप उपचारको लागि पठाइएको जनाउँदै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नबराज अधिकारीले घटनाको अनुसन्धान भई रहेको बताउनु भएको छ ।
सडकमा रहेको ढुंगोमाथि भएर गाडि कुदाउँदा अबरोध भएको र एक्सीलेटरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । ‘ढुंगाको अबरोधका करण दुर्घटना भएको हुन सक्ने देखिएको छ, बाँकी अनुसन्धान भईरहेको छ’ प्रनाउ अधिकारीले भन्नुभयो ।
केही मिनेट मै प्रहरी
बस दुर्घटना भएको २०–२५ मिनेट मै प्रहरी र सेनाको उद्धार टोली घटनास्थल पुगेकाले तत्काल उद्धार गर्न सफल भएको प्रनाउ अधिकारीले जानकारी दिनुभएको छ ।
जात्राको सुरक्षा व्यवस्थापनका लागि मालिकार्जुन मन्दिर मै रहेका प्रनाउ नबराज अधिकारी, सशस्त्र प्रहरी हेडक्वाटर ५० नम्बर गुल्मका गुल्मपति भिमबहादुर चन्द, नेपाली सेनाको दुर्गा दल गुल्मका गुल्मपति गणेशबहादुर रावलको टोलीले तत्काल उद्धार गरेको स्थानीयले मोहनसिह धामीले जानकारी दिनुभएको छ ।
ठूलो संख्यामा स्थानीय र सुरक्षा निकायको टोली पुगेकाले भिरालो र अँध्यारोको बेला समेत उद्धार गर्न सजिलो भएको घटनास्थल पुगेका पत्रकार सन्तोष कोट्टारीले बताउनुभयो ।
पहिलो पटक हेलि सेवा
सडक दुर्घटना परि घाइते भएकाहरुलाई उद्धार गर्न दार्चुलामा पहिलो पटक हेलिकोप्टरले सेवा दिइएको छ । सडक दुर्घटनाका घाइतलेहरुलाई अन्यत्र लैजान योभन्दा पहिले कहिल्यै हेलिकोप्टरको प्रयोग भएको थिएन ।
घाइतेहरुको यथासिघ्र उद्धार र उपचार गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने नेताहरुले बिहानैदेखि पहल गरेका थिए भने हेलिकोप्टरले दिउँदो सवा १ बजेतिर घाइतेहरुलाई गोकुलेश्वर अस्पतालबाट लिएर गएको छ ।
सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले प्रेस विज्ञप्तिमार्फत दार्चुलामा भएको दुर्घटनाका गम्भीर घाइतेको थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था थरी प्रभावकारी उपचारका निमित्त आवश्य पहल गरिएको उल्लेख गरेका छन् ।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्यहरु गेल्बुसिह बोहरा र मानबहादुर धामीले तथा घाइतको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गरेको सांसद बोहराका स्वकीय सचिव शेरसिह धामीले जानकारी दिनुभएको छ । त्यसैगरी प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले मूख्यमन्त्री भट्टलाई बिहानै फोन गरेर थप उपचारका लागि अन्यत्र लैजानु पर्ने भएकाले प्रदेश सरकारका तर्फबाट पहल गर्न पनि आग्रह गरेको उहाँको भनाई छ । थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गरेर मूख्यमन्त्री, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेशको मन्त्रि परिषद्लाई दार्चुलाका संसद तथा प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीले धन्यवाद दिनु भएको छ ।
नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य लेखराज भट्टले शुक्रवार विहानै फेसबुकमार्फत दार्चुला वस दुर्घटनाका घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गरिन लागेको बताएका थिए ।
नेताहरुको समवेदना
मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा भएको बस दुर्घटनामा दुख व्यक्त गर्दै मृतप्रति श्रद्धाञ्जली र घायतेहरुको स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्रीदेखि प्रतिनिधि सभा संसदसम्मले संवेदना प्रकट गरेका छन् ।
सुदूरपश्चिम प्रदेश मूख्यमन्त्री त्रिलोचन भट्टले प्रेस विज्ञप्ति मार्फत नै संवेदना जाहेर गरेका छन् भने प्रतिनिधि सभा सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रशाद बडूले फेसबुक वालमार्फत संवेदना व्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले फेसबुक वालमार्फत मृतकलाई श्रद्धाञ्जली, घाइतेको स्वास्थ्य लाभ र हेलिकोप्टरमार्फत घाइतेको उपचारमा सहयोग गरेको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिएका छन् भने प्रदेश सभा सदस्यद्वय गेल्बुसिह बोहरा र मानबहादुर धामीले पनि घटनाप्रति संवेदना व्यक्त गरेका छन् ।