मालिकार्जुन मन्दिरमा राती लाग्ने जात्रा दिनमै मनाइदै

0
733

उद्धव सिंह धामी

दार्चुला मंसिर १४ ।
देशकै सातौँ धाम शैल्यशिखर मालिकार्जुनमा जिल्लाकै सबैभन्दा ठूलो जात्रा यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले आज हुने मालिकार्जुन मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने मालिकार्जुन गाउँपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष एवम् मन्दिरका मुखीया रुदे्र सिंह धामीले जानकारी दिनु भयो । शनिबार शिखरको पुजन जात्रा पछि आईतबार चर्तुदशीको दिन मालिकार्जुन मन्दिर मडमा जिल्लाकै ठूला जात्रा लाग्ने गर्छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन पर्यटन पूर्वाधार विकास समाजका सचिव जनकसिह धामीले बताए । शैल्यशिखरमा मालिकार्जुन स्वामीको बासस्थान रहेको स्थानीय
देवस्तुतिहरु, झोडो, फाग, अठ्वाली, आदीमा वर्णन गरिएको पाइन्छ । जंगलको बीचमा रहेको यो क्षेत्रलाई हिमशिखर शिवालयको रुपमा समेत व्याख्या गरिएको छ । पहिलो पटक शिखरपूजनमा सहभागि हुने,दर्शन गर्नेहरु भक्तजनहरुले १५ दिनदेखि नै हरेक दिन नुहाउने, एक छाक मात्रै खाने, मासु प्याज, लसुन, मसुर आदि जस्ता कुराहरु नखाने धार्मिक विश्वास रहेको छ । मड गाउँबाट ३२ सयको उचाईमा शिखर रहेको छ । शिखर धाममा पुजन जात्रामा सहभागी हुनको लागि नेपालका सुदूरपश्चिम क्षेत्रका मात्र नभई भारतको उत्तराञ्चल प्रदेश पिथौरागढ, अस्कोट, जौलजीवि, बलुवाकोट आदी क्षेत्रबाट ठूलो संख्यामा भक्तजन एवं दर्शनार्थीहरु आउने भएपनि यो वर्ष कोरोना भाइरसको प्रभावका कारण विगत वर्षहरुको तुलनामा भक्तजनहरुको उपस्थितिमा कमि आएको छ । मालिकार्जुनका देबीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपीठहरुमा रातभरी मालिकार्जुन मन्दिरमा जात्रा लागेकै दिन जात्रा लाग्ने गर्दछ । द्धितिया तिथीबाट जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालीकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिइने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ । एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानी पख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा लेकम गाउँपालिकाको रिठाचौपाताबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो हुने परम्परा छ । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ । रातभरी जात्रा हेरेर विहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् । कोहीले बिहानीपख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् । तर यस वर्ष कोरोनाको जोखिमबाट बच्न मन्दिरहरुमा पुजाआजा बाहेकका गतिविधिहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर मात्रै मन्दिर क्षेत्रमा प्रवेश गर्न सबैमा अनुरोध गरिएको छ ।