मालिकार्जुन धाममा विश्वशान्ति र कल्याणका लागि रूद्राभिशेक

0
2661

दार्चुला, चैत्र २४ गते ।
राष्ट्रका सात धाममध्येको एक प्रमुख तिर्थस्थल दार्चुलाको मालिकार्जुन मन्दिरमा सोमबार रूद्राभिशेक गरिएको छ । विश्वशान्ति र कल्याणको कामनासहित पूजापाठ गरिएको हो ।
प्रत्येक सोमवार मालिकार्जुन धाममा भगवान शिवको विशेष पूजा अर्थात रूद्राभिशेक हुदैआएको आज विश्वशान्ति र कल्याणको प्रार्थनासहित पूजापाठ गरिएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ भौतडीका समाजसेवी नैनसिंह धामीले बताउनुभयो ।
कोरोना संक्रमणको महामारी सिंगो विश्व प्रभावित भइरहेको अवस्थामा विश्वशान्ति र कल्याणका लागि सोमबारको रूद्राभिशेक गरिएको पुजारी केशवदत्त पन्त सुब्बाले बताउनुभयो । रूद्राभिशेक पूजामा शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामी र नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीलगायतको सहभागिता रहेको थियो । पवित्र कैलाश मानसरोवरको काखमा रहेको मालिकार्जुन धाम भगवान शिवका बाह्रवटा ज्योतिर्लिंगमध्येको दोस्रो लिंगका रूपमा पूजिन्छ ।
सनातन र वैदिक परम्पराअनुसार मालिकार्जुन मन्दिरमा नियमित रूपमा पूजापाठ गरिदैआएको समाजसेवी नैनसिंह धामीको भनाइ छ । नेपाल सरकारले एक दशकअघि देशभरिका प्रमुख सात धाममध्ये एउटा धामको रूपमा मालिकार्जुन धार्मिक क्षेत्रलाई घोषणा गरेको छ । गत आर्थिक वर्षमा देशभरका प्रमुख एकसय धार्मिक गन्तव्यमध्येको सूचीमा समेत मालिकार्जुन धाम राखिएको छ ।
नेपालका प्रथम जगतगुरू वालसन्त मोहनशरण देवाचार्यले चार वर्षअघि मालिकार्जुन मन्दिरमा ज्योतिर्लिंग स्थापना गर्न लगाइ हरेक सोमबार रूद्राभिशेक गर्ने परम्परा बसालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक महिनाअघि फागुन १५ दार्चुलाको मालिकार्जुन धाम दर्शन गर्नुभएको छ ।