मालिकार्जुन गाउँपालिकाले डाक्टर सहितको घरदैलो सेवा दिँदै

0
377

दार्चुला,माघ ०५ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाले घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ग्रामिण क्षेत्रमा रहेका विभिन्न किसिमका बिरामीहरुलाई घरदैलोमा सेवा दिने उद्देश्यले वडावडामै डाक्टर सहितको टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो । विहिबार आज मालिकार्जुन गाउँपालिका वडा नम्वर ६ मा रहेको उकु स्वास्थ्य चौकीमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले डाक्टर सहितको घरदैलो सेवा कार्यक्रम उद्घाटन गरेका छन् । कार्यक्रममा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी,गाउँपालिका प्रवक्ता एवम वडा नम्वर ५ का वडा अध्यक्ष मदन चन्द,उक्त वडाका वडा अध्यक्ष गोकर्ण सिंह धामी लगायत डाक्टर निराजन बोहराको सहभागीता रहेको थियो । आजबाट सुरु गरिएको डाक्टर सहितको घरदैलो सेवा गाउँपालिका ८ वटै वडामा सञ्चालन गरिने बताइएको छ । डाक्टर सहितको घरदैलो सेवा कार्यक्रममा आज पहिलो दिन जम्मा ९८ जनाले सेवा लिएका छन् । जस मध्ये १२ जना गर्भवति महिलाले अल्ट्रासाउण्ड सेवा,लिएका भने २१ जनाले सुगर जाँच,८ जनाले इसिजि सेवा,७ जनाले अपाङ्गता परिचय पत्रका लागि चिकित्सको सिफारिस, २ जनाले खकार जाँच, र ८ जनाले मधुमेह रोगका विरामी भेटिएका छन् । चेक जाँच गर्दा १५ जनामा उच्च रक्तचाप रहेको पाइएको छ । डाक्टर सहितको घरदैलो सेवा कार्यक्रममा विभिन्न किसिमको जाँच तथा परामर्श सेवा,उच्च रक्तचाप,सुगर जाँच,खकार परिक्षण तथा परामर्श सेवा,गर्भवति महिलाहरुको लागि अल्ट्रासाउण्ड सेवा,इसिजि सेवा,निशुल्क औषधि वितरण,अपाङ्गता परिचय पत्रका लागि चिकित्सको सिफारिस दिइरहेको मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
विशेषज्ञ चिकित्सक सहितको सेवा र औषधि समेत निशुल्क वितरण गर्ने गरी गाउँघरमै सेवा सञ्चालन गरेपछि सेवाग्राही खुसी भएका छन् । समय समयमा यस्ता स्वास्थ्य कार्यक्रम गाउँघरमै सञ्चालन गरिए ग्रामीण भेगका जनाता बिरामी पर्दा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हट्ने र यसले जनताहरुलाई उपचार खर्च दुबैमा राहत पुग्ने स्थानीय रतन महरले बताएका छन । शुक्रबार भोली गाउँपालिकाको वडा नम्वर ७ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र जोलजिवीबाट सेवा दिने मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । ७ गते मेलखेतमा स्वास्थ्य उपचार सेवा संञ्चालन गर्ने जनाएको छ । यस्तै ८ गते भगवतीमा,९ गते मालिकार्जुन ३ मडको मालिकार्जुन स्वास्थ्य चौकीमा ,१० गते मालिकार्जुन ५ को डाडाकोट स्वास्थ्य चौकीमा उपचार सेवा संञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । माघ ११ गते सेलिचामा तथा १२ गते मालिकार्जुन ४ को चन्दनपुर हुनैनाथमा गरिने गाउँपालिकाले जनाएको छ ।