मालिकार्जुन गाउँपालिकामा कोभिड अस्थायी अस्पतालको उद्घाटन

812

दार्चुला, मंसिर ७ गते ।
मालिकार्जुन गाउँपालिकाले आईतबार कोभिड–१९ अस्थायी अस्पतालको उद्घाटन गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी शंकरपुर पस्तीमा कोभिड अस्थायी अस्पताल उद्घाटन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
कोरोना महामारीलाई मध्यनजर गरी नेपाल सरकारले अस्पताल नरहेका स्थानीय तहमा कोभिड अस्थायी अस्पतालका लागि बजेट नै विनियोजन गरेको थियो । अस्पताल नरहेका स्थानीय तहलाई बजेट उपलब्ध गराएर कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष पदमराज पन्तको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको प्रमुख आतिथ्यतामा अस्थायी कोभिड अस्पतालको उद्घाटन गरिएको छ । कोभिड अस्पतालका लागि गाउँपालिकाले मेडिकल अधिकृत डाक्टरको व्यवस्थापन गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
अस्थायी कोभिड अस्पतालका लागि आबश्यक स्टाफ नर्स लगायत जनशक्तिको विज्ञापन खोलिने गाउँपालिको अध्यक्ष धामीले बताउनु भयो । मालिकार्जुन गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन भएसंगै कोभिड अस्पताल स्थापना गर्ने स्थानीय तहको संख्या तीन पुगेको छ । सबैभन्दा पहिले मार्मा गाउँपालिकाले डाक्टरको व्यवस्थापन गरि कोभिड अस्थायी अस्पताल उद्घाटन गरेको थियो । त्यसपछि दुहूँ गाउँपालिकाले पनि वडा नम्बर २ स्थित हिकिला स्वास्थ्य चौकीमा कोभिड अस्पताल उद्घाटन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !