मालिकार्जुन गाँउपालिकामा ३२ लाख बजेट फ्रिज

0
2687

दार्चुला, भदौ ६ गते ।
मालिकार्जुन गाँउपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा ३२ लाख २६ हजार ७ सय ५३ रुपैयाँ बजेट फ्रिज भएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गतको बजेट फ्रिज भएको गाँउपालिकाले जनाएको छ ।
गतवर्षमा विभिन्न ७ शीर्षकमा १५ करोड ५३ लाख ५७ हजार रुपैयाँ गाँउपालिकालाई सशर्त अनुदान प्राप्त भएको थियो । स्वास्थ्य क्षेत्रमा १ लाख १३ हजार ९ सय रुपैयाँ, एलजिसिडिपीको २६ हजार ३ सय ३१ रुपैयाँ र आयुर्वेदिकको २ लाख ५८ हजार ५ सय २० रुपैयाँ फ्रिज भएको लेखापाल गोदावरी ठगुन्नाले बताउनुभयो ।
सबैभन्दा बढी शिक्षा क्षेत्रको २७ लाख ३० हजार ५ सय ५२ रुपैयाँ फ्रिज भएको छ । कृषि क्षेत्रको ९७ हजार १ सय ६० रुपैयाँ र पशुसेवातर्फको २ सय ९० रुपैयाँ फ्रिज भएको विवरण छ ।गाँउपालिकालाई गत वर्ष प्राप्त निशर्त अनुदान अर्थात वित्तिय समानीकरणतर्फको बजेट भने फ्रिज नहुने व्यवस्था छ । मालिकार्जुन गाँउपालिकामा वित्तिय समानीकरणतर्फ चालुमा ३ करोड ५४ लाख ४६ हजार ५ सय रुपैयाँ र पूजीगततर्फ १० करोड ६३ लाख ३९ हजार ५ सय रुपैयाँ बजेट प्राप्त भएको थियो ।
असार मसान्तसम्मको अवधिमा वित्तिय समानीकरणको बजेटमध्ये २ करोड १७ लाख ७९ हजार ६ सय ६५ रुपैयाँ खर्च भइसकेको लेखापाल ठगुन्नाले बताउनुभयो । पूजीगततर्फ ८ करोड ६८ लाख २ हजार १ सय ६७ रुपैयाँ खर्च भइसकेको छ ।
गतवर्षको बजेटमध्ये चालुतर्फ १ करोड ३६ लाख ६६ हजार ८ सय ३५ रुपैयाँ र पूजीगततर्फ १ करोड ९५ लाख ३७ हजार ३ सय ३३ रुपैयाँ खर्च हुन बाँकी छ । गतवर्षको खर्च हुन बाँकी बजेट चालु वर्षमा खर्च गरिने लेखापाल गोदावरी ठगुन्नाले बताउनुभयो ।
यसैगरी दुर्गम क्षेत्र विकास कार्यक्रमअन्तर्गत ११ लाख ४० हजार बजेट प्राप्त भएकोमा सबै रकम खर्च भएको गाँउपालिकाको लेखा शाखाले जनाएको छ ।
मालिकार्जुन गाँउपालिकामा गत आर्थिक वर्षमा ८ लाख २७ हजार ७ सय २८ रुपैयाँ आन्तरिक आम्दानी गएको छ । गत वर्षमा गाँउपालिकाभरीको बजेट २२ करोड ३८ लाख ३३ हजार रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here