मालिकार्जुनका २० जना किसानलाई उन्नत जातका “मुर्रा भैसी”वितरण

578
दार्चुला,जेष्ठ १८ गते
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका कृषकहरुलाई भैसी वितरण गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलासंगको सहकार्यमा सञ्चालित भैसी प्रबद्र्धन कार्यक्रम अन्तरगत कृषकहरुको आयआर्जनमा वृद्धि गर्नका लागि उन्नत जातका भैसी वितरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पशुविकास अधिकृत दिगम्बर जोशीले जानकारी दिनु भयो । दुग्ध उत्पादक कृषकहरुलाई लक्षित गरी उनीहरुको आयआर्जन वृद्धिका लागि उन्नत जातका भैसी वितरण गरिएको उहाँले बताउनु भयो । कंचनपुरको बेलैरीमा रहेको सिद्धबाबा गाई भैँसी फार्मबाट प्रतिगोटा एकलाख बीस हजारका दरले भैँसी खरिद गरि बुधबार स्थानीय किसानलाई वितरण गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको ५० प्रतिशत अनुदान तथा मालिकार्जुन गाउँपालिकाको २५ प्रतिशत अनुदान लगायत कृषक समुहको स्व लगानी २५ प्रतिशतमा रहेर कृषकहरुलाई भैसी वितरण गरिएको हो । गाउँपालिकाको वडा नम्बर २ र ३ का २० जना कृषकहरुलाई मुर्रा जातको भैसी वितरण गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलालाई चालु आर्थिक वर्षमा भैसी खरिद गरी विरतण गर्नका लागि प्रदेश सरकार मार्फत १४ लाख रुपैँया बजेट दिएको थियो । उक्त रकममा गाउँपालिकाको वडा नम्बर २ का १० जना तथा वडा नम्बर ३ का १० जना किसानलाई भैसी वितरण गरिएको मालिकार्जुन गाउँपालिका पुशशाखा प्रमुख कल्यान सिह धामीले जानकारी दिनु भयो । किसानहरुलाई स्वरोजगार बनाउने, दुध उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले किसानहरुलाई भैसी वितरण गरिएको उहाँले बताउनु भयो । केहि बर्ष अगाडीबाट अधिकांश स्थानीयले गाउँमा भैँसी पाल्नै छोडेको र हाल पालिका र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला संगको सहकार्यमा भैँसी पाल्नका लागि प्रोत्साहन गरेकाेमा खुसी लागेकाे मालिकार्जुन ३ का किसान कल्यान सिंह धामीले बताउनु भयाे ।
तपाईको प्रतिक्रिया दिनुहोस् !