मालघाट घटना स्थलमा आधा घण्टा सम्म छानविन टोलीले के गर्यो ?

992
घटनास्थल मालघाटमा छाविन टोली

बिरा दत्त भट्ट
दार्चुला, साउन २१ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा भारतीय एसएसबीले तुईन फुकाली जय सिह धामी महाकाली नदीमा खसेको घटनाबारे छानविन गर्न विहिबार घटनास्थल तर्फ गएको गृह मन्त्रालयको टोलीले घटना स्थलमा आधा घण्टा सम्म अध्ययन अवलोकन गरेको छ ।

विहान ८ बजे भारतको धार्चुला भएर घटनास्थल धार्चुलाको गस्कुक्षेत्र गएको टोली संग भारतीय एसएसबी पनि रहेको थियो । दार्चुला सदरमुकाम खलंगा स्थित पुलघाटबाट गएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोलीलाई स्वागत गर्न एसएसबी डिडिहाटका कमाण्डेन्ट अफिसर महेन्द्र प्रताप पुलघाटमै पुगेका थिए । पुलघाटबाटै नेपाली छानविन टोली संग एसएसबी कमाण्डेन्ट अफिसर महेन्द्र प्रतापको टोली गस्कु घटना स्थल सम्म पुगेको थियो ।
घटना स्थलमा पुगेको नेपाली छानविन टोलीले आधा घण्टा सम्म घटनास्थलको फोटो खिच्ने, भिडियो बनाउने देखि घटना स्थलको जाँचबुझ गरेको स्रोतले जनाएको छ । नेपाली छानविन टोलीलाई भारतको धार्चुला प्रवेश गरेदेखि नेपाल फिर्ता हुदाँ सम्म एसएसबीका कमाण्डेन्ट अफिसर महेन्द्र प्रताव नेपाली टोली संगै रहेको स्रोतले जनाएको छ ।


घटना स्थलमा नेपाली टोलीमा गृह मन्त्रालयले छानविनका लागि गठन गरेको समितिका संयोजक गृह मन्त्रालयका सह सचिव जर्नादन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका थिए । छानविन समिति बाहेक बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, अनुसन्धान दार्चुलाका डिएसपी महेश प्रसाद अवस्थी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपक पातली, प्रहरी जवान राजेन्द्र सिह, सशस्त्र प्रहरी विरख सायर लगायत रहेका थिए । भारतीय टोलीमा एसएसबी कमाण्डेन्ट अफिसर महेन्द्र प्रताव सहित एसएसबीका अधिकारीहरु रहेका थिए । मंगलबार दार्चुला पुगेको गृह मन्त्रालयको छानविन टोलीले बुधबार दार्चुलामा घटनाका प्रत्यक्षदर्शी, जनप्रतिनिधी, पत्रकार तथा मानव अधिकारकर्मीहरु संग घटनाबारे जानकारी लिएको थियो । टोलीले छानविन गरिसकेपछि दश दिन भित्र गृह मन्त्रालयलाई प्रतिबेदन बुझाउने छ ।

सम्बन्धित समाचारहरु


तपाईको प्रतिक्रिया दिनुहोस् !