मार्मा गाँउपालिकामा शिक्षक महासंघको नेतृत्व विष्टले गर्ने

2476

दार्चुला, पुष २१ गते ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको मार्मा गाँउपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले गर्ने भएको छ । संगठनका तर्फबाट लटिनाथ आधारभूत विद्यालय मर्मतीका प्रधानाध्यापक कृष्णसिह विष्ट गाँउपालिका स्तरीय समितिको अध्यक्ष बन्ने भएका छन् ।
आज मार्मा गाँउपालिकाको लटिनाथमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट महासंघको नेतृत्वमा विष्टलाई पठाउने निस्कर्ष निकालिएको संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीले बताउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको आयोजना गरिएको अन्तरक्रियामा मार्मा गाँउपालिका अध्यक्ष जमनसिह धामी प्रमुख अतिथि रहनुभएको थियो । संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमले महासंघको सहसचिवमा संगठनका तर्फबाट तपोवन मावि पडपडाका शिक्षक रामदत्त पन्तलाई पठाउने निर्णय गरिएको छ ।
संगठनमा आवद्ध शिक्षकहरुबीच छलफल र अन्तरक्रिया गरी महासंघको नेतृत्व चयनको गृहकार्य गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीले बताउनुभयो । मार्मामा तत्कालिन एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठन र तत्कालिन माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुबीच संयुक्त रुपमा पनि छलफल गरिएको छ ।
एक हप्ताअघि दार्चुलामा तीन शिक्षक संगठनहरुबीच नेपाल शिक्षक महासंघ गठनबारे सहमति जुटेको थियो । सहमति अनुसार मार्मा गाँउपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको नेतृत्व रहनेछ ।
दुई शिक्षक संगठनमा प्रवेश
शनिवार मार्मा गाँउपालिकाको केन्द्र लटिनाथमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा दुइजना शिक्षकले एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् । शेरीस्थित आधारभूत विद्यालय छिपानका प्रधानाध्यापक प्रेमसिह डडाल र सितोलास्थित सल्लेधार मावि मुर्रैका प्रधानाध्यापक कृष्णसिह बोहरा संगठनमा प्रवेश गरेको अध्यक्ष जनकसिह धामीले बताउनुभयो ।
काग्रेसनिकट नेपाल शिक्षक संघ परित्याग गरी दुबै शिक्षकले तत्कालिन माओवादीनिकट शिक्षक संगठनमा प्रवेश गरेका हुन् । नवप्रवेशी शिक्षकहरुलाई मार्मा गाँउपालिका अध्यक्ष जमनसिह धामी र संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !