मार्माको सेल्बिसा सम्म बस सञ्चालन गर्न प्राविधिक अध्ययन गरिदै

0
737

दार्चुला, मंसिर १८ गते ।
मार्मा गाउँपालिकाको सेल्बिसा सम्म बस सञ्चालन गर्न उपयुक्त भए वा नभएको विषयमा भौतिक र प्राविधिक अध्ययन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा विहीबार बसेको जिल्ला तदर्थ यातायात व्यवस्थापन समितिको बैठकले मार्मा गाउँपालिकाको वडा नं २ सेल्बिसा सम्म बस सञ्चालन गर्ने विषयमा छलफल गरिएको हो ।
बैतडीको गन्ना देखि मार्मा गाउँपालिकाको वडा नं ३ लटिनाथ सम्म बस सेवा सञ्चालन भइरहेको र वडा नं २ सेल्बिसा सम्म सडकको अवस्था राम्रो रहेकाले सेल्बिसा सम्म बस सञ्चान गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला लाई अनुरोध गरेको थियो ।
बिहिबार बसको बैठकले सेल्बिसा सम्मको सडकमा बस सञ्चालन गर्न उपयुक्त छ वा छैन भन्ने विषयमा अध्ययन गर्न पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको छ । दार्चुला तिंकर सडक आयोजनाका इन्जिनीयर राजकिशोर सिह संयोजक तथा जिल्ला समन्वय समिति अधिकृत प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाका प्रतिनिधि र मार्मा गाउँपालिकाका प्राविधिक प्रतिनिधि सदस्य रहने गरि प्राविधिक गठन गरिएको छ । समितिले दिएको प्रतिबेदनका आधारमा उक्त क्षेत्र सम्म बस सञ्चालन गर्ने वा नगर्ने विषय टुङ्गो लाग्ने छ ।
बैठकले महाकाली राजमार्ग संग जाडिएका जिल्ला भरिका ग्रामीण सडकहरुको स्तरोन्नती गर्ने तथा स्थानियतहहरुमा रहेका बाटोघाटोको मर्मत सम्भार र संरक्षणका लागि सम्बन्धित पालिकाहरुको जिम्मा दिने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।