मापदण्डको धज्जी उडाउदै ब्यासमा राहात खरिद तयारी

0
2452

दार्चुला, बैशाख ४ गते ।

व्याँस गाउँपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिमका बेला मन्त्रालयले निर्माण गरिदिएको नमुना मापदण्ड विपरित राहात खरिद प्रक्रिया अगाडी बढाएको छ ।
नेपाल सरकारको मन्त्री स्तरको निर्णय अनुसार बनाइएको ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६’ को धज्जी उडाउदै राहत खरिदको तयारी गाउँपालिकाले गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरि देशभर लकडाउन घोषणा गरिएका बेला राहत वितरणका लागि वडा समितिलाई अधिकार दिइएको भएपनि व्याँस गाउँपालिकाले आफैले खरिद गर्न तम्सिएकोे छ ।
अर्थ मन्त्रालयले राहात वितरणका लागि नमुना मापदण्ड बनाएर चैत्र १९ गते नै प्रकाशित गरेको थियो । मन्त्रालयको नमुना मापदण्डको दफा ६ मा राहत सामग्री वितरण गर्नका लागि वडा समितिले खरिद गरी वितरण गर्ने भनिएको छ । तर ब्यास गाउँपालिकाले गत चैत्र २८ गते दररेट पेस गर्न सम्बन्धी सुचना प्रकाशन गरि मंगलबारको गाउँकार्यपालिकाको बैठकले खरिदका लागि अन्तिम तयारी गरेको छ ।
व्याँस गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोज कुवँरका अनुसार गाउँपालिकाले खलंगाका एउटा व्यापारीलाई राहात खरिदको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

दररेट पेस गर्ने सम्बन्धी गाउँपालिकाको सूचना हेर्नुहोस


दररेट माग गरि ६ ओटा व्यवसायीमध्ये खलंगाको पिबि टेडर्स एण्ड सप्लायर्सलाई जिम्मेवारी दिएको वडाध्यक्ष कुवँरले बताउनु भयो । ‘गाउँपालिकाले दररेट माग गरेको थियो, त्यसमा ६ ओटा आबेदन परेका थिए’ वडाध्यक्ष कुवँरले भन्नु भयो । सबैभन्दा कम दररेटमा उपलब्ध गराउनेलाई जिम्मेवारी दिइएको उहाँको भनाई छ ।
तर मन्त्रालयले निर्माण गरेको नमुना मापदण्डको दफा ६ को उपदफा १ को ‘क’ मा राहात वितरणका लागि सम्बन्धित वडा समितिले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिदिएको छ । तर व्याँस गाउँपालिकाले त्यो व्यवस्थालाई अबलम्बन गर्न नमानेको स्पष्ट देखिन्छ ।

मापदण्डको दफा ६ को उपदफा १ को ‘क’ मा भएको ब्यवस्था हेर्नुहोस ।


मापदण्डको दफा ६ को उपदफा १ को ‘ख’ मा वडा समितिले गर्न नसक्ने अवस्थामा मात्रै स्थानीय तहले स्थानीय आपूर्तिकर्ताबाट मूल्यसूची लिई आपूर्तिकर्ता छनौट गर्ने खुकुलो व्यवस्था गरिदिएको छ । आपूर्तिकर्ता छनौट सम्मको अधिकार स्थानीय सरकारलाई दिइएपनि वितरण भने कुपन प्रणालीबाट वडा सदस्य वा वडाध्यक्षले वितरण गर्नुपर्ने व्यवस्था गरिदिएको छ । मापदण्डले स्थानीय आपूर्तिकर्ताबाट मूल्यसूची माग गर्ने भनेको छ तर गाउँपालिकाले सदमुकाम खलंगाको पिबी टेडर्स एण्ड सप्लायर्सलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
लकडाउनका बेला विहान बेलुकाको छाक टार्न समस्यामा परेका असंगठित श्रमिक तथा असहायहरुलाई राहात वितरण गर्ने कार्य स्वागत योग्य भएपनि मापदण्डलाई वेवास्ता गर्दै गरेको कार्यको आफुले विरोध गरेको वडा नं ३ का वडाध्यक्ष उपेन्द्र सिह धामीको भनाई छ ।
मापदण्डले वडा समितिलाई दिएको अधिकार गाउँकार्यपालिकाले खोसेको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष संग्राम सिँह विष्टले असन्तुष्ट व्यक्त गरेका छन् । ‘हाम्रो अधिकार गाउँकार्यपालिकाले खोस्दा हामीहरु सन्तुष्ट हुने कुरै भएन, मापदण्डले तोकेको अधिकार खोसिएको छ’ वडाध्यक्ष विष्टले भन्नु भयो ।
अहिले देशमा लकडाउनका कारण श्रमिक तथा असहाय व्यक्तिहरु समस्यामा पर्ने भएकाले गाउँपालिकाको कार्यमा सहमती जनाएको वडाध्यक्ष विष्टले बताउनु भयो । यस विषयमा प्रतिक्रियाका लागी गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकियलाई पटक पटक सम्पर्क गर्न खोज्दा फोन उठेन ।