माओवादी एक्लै चुनाव लड्न सक्षम छः धामी

0
505

दार्चुला, चैत्र १९ गते ।
नेकपा माओवादी केन्द्र दार्चुलामा एक्लै चुनाव लड्न सक्षम भएको माओबादी केन्द्र दार्चुलाका समन्वय समिति संयोजक मानबहादुर धामी सन्तोषले बताउनुभएको छ ।

शनिबार प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति वीर बहादुर बलायरले दार्चुला सदरमुकाममा यस प्रदेशमा चुनावी गठबन्धन नहुने बताएका थिए । यसै सन्दर्भमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदै धामीले माओवादी एक्लै लड्न सक्षम रहेको बताएका छन् । निर्वाचनमा गठबन्धन काङ्ग्रेसका लागि पनि आवश्यक रहेको उहाँको दाबी छ । 

पालिका इन्चार्ज र जिल्ला समन्वय समितिको टुङ्गो

नेकपा माओवादी केन्द्रले लामो समय पछि दार्चुला जिल्लाको पार्टी संरचनालाई पूर्णता दिएको छ । आज सुदुरपश्चिम प्रदेश कमिटी लगायत जिल्ला नेताहरुको भेलाले जिल्लाको संरचना टुङ्गो लगाएको माओवादीले जनाएको छ । माओवादी केन्द्र दार्चुलाका इन्चार्ज लक्ष्मी विकको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, लक्ष्मणदत्त जोशी, प्रदेश कमिटी उपाध्यक्ष मानसिहं माल, सचिव जनक बुढा लगायत उपस्थित रहेका थिए । भेलाले जिल्ला समन्वय समितिको संयोजकमा मानबहादुर धामी र सचिवमा पदमराज पन्त लगायत ६१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ । साथै जिल्लाका ९ वटै स्थानीय तहका इन्चार्जहरुको पनि टुंगो लगाएको छ । व्याँस गाउँपालिकामा उपेन्द्र कुवर, दुहुँमा विक्रम कुवर, महाकाली नगरपालिकामा दिपक राज जोशी, मालिकार्जुन गाउँपालिकामा पदम राज पन्त, लेकममा रामदत्त जोशी, शैल्यशिखर नगरपालिकामा केशव विक, नौगाड गाउँपालिकामा दलजित सिंह धामी, मार्मामा जमनसिंह धामी, अपि हिमाल गाउँपालिकामा भगतसिंह ठेकरे बोहरा इन्चार्ज तोकिएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा चुनावी तालमेलका लागि मानबहादुर धामी संयोजक तथा जमनसिंह धामी र पदमराज पन्त सदस्य रहने गरि निर्वाचन समन्वय कार्यदल गठन गरिएको माओवादीले जनाएको छ ।