महेन्द्र नमुना माविको छात्राबासको शुभारम्भ

567

दार्चुला, कार्तिक २४ गते ।
दार्चुलाको महाकाली नगरपालिका ४ मा रहेको महेन्द्र नमुना मावि खलंगाको छात्राबासको शुभारम्भ गरिएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महादेब बडु कस्यपको सभापतित्वमा शुभारम्भ कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो ।

शुभारम्भ कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख हंश राज भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, नेपाली काङग्रेस दार्चुलाका सभापति ललित सिह बोहरा विशिष्ट अतिथि रहनुभएको थियो । शुभारम्भ कार्यक्रममा महाकाली नगरपालिका वडा नं ७ का वडाध्यक्ष, अभिभाहक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा टुहुरा तथा असहाय बालबालिकाहरुको बसोबासका लागि महाकाली नगरपालिकाको वडा नं ५ गल्फै क्षेत्रमा सात कोठा, ट्वाइलेट, बाथरुम र भान्सा सहितको छात्राबासको निर्माण गरिएको छ । प्रदेश सरकारको ७० लाख बजेटमा महाकाली नदी तटबन्ध संगै जोडिएको जमिनमा उक्त छात्राबासको संरचना निर्माण गरिएको छ । गते असोज १८ गते विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बडु र प्रदेश उपसभामुख निर्मला बडाल जोशीले उक्त भवनको संयुक्त रुपमा उद्धघाटन गरेका थिए । छात्राबासको भवनमा हाललाई केटाहरुका लागि बसोबास ब्यवस्थापन गरिएको विद्यालयका प्रधानाध्यापक जोशीको भनाई छ । ‘एउटै तला भएका कारण केटा वा केटी मध्ये एउटा मात्रै राख्न सकिने स्थिती छ, हाम्रो समाज अझै पनि सहज रुपमा छोरीहरु बाहिर लगाउन सक्ने स्थिती देखिदैन त्यसैले केटाहरुको लागि छात्राबासमा ब्यवस्थापन गरिएको हो’ प्रधानाध्यापक जोशीले भन्नुभयो । बढीमा २० जना राख्न सकिने छात्राबासमा हाल बस्नका लागि ८ जना विद्यार्थी पुगेका छन् ।सामाजिक विकास मन्त्रालय अन्र्तगतको शिक्षा विकास निर्देशनालय तथा महाकाली नगरपालिकाको ब्यवस्थापनमा छात्राबासमा बस्ने विद्यार्थीका लागि निःशुल्क खान, बस्नको ब्यवस्थापन गरिएको प्रधानाध्यापक जोशीले बताउनुभयो । साथै विद्यार्थीलाई प्रतिमहिनाको पाँच सय रुपैयाँ खाजा खर्च उलब्ध गराइने छ । छात्राबासमा एक जना अंग्रेजी शिक्षक, एक जना भान्से तथा एक जना पाले समेत बस्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !