महिलाहरूका लागि आयोगका तयारी कक्षा सञ्चालन हुँदै 

434

दार्चुला, माघ २६ गते । 


दार्चुलामा महिलाहरुका लागि लोक सेवा तथा शिक्षक सेवा आयोगका कक्षाहरु सञ्चालन गरिन लागेको छ । सामाजिक विकास कार्यालय दार्चुलाले महिलाहरुका लागि शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षाहरु सञ्चालन गर्न लागेको कार्यालय प्रमुख रामचन्द्र ओझाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालय दार्चुलाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुका लागि आयोगका तयारी कक्षा सञ्चालन हुन लागेका हुन् ।
उक्त कक्षाहरुमा सहभागि हुन इच्छुकले फागुन ५ गते भित्र सामाजिक विकास कार्यालय दार्चुलामा आवश्यक कागजपत्र सहित निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । 


शिक्षक सेवा आयोग तर्फ निम्न माध्यामिक तह र लोक सेवा आयोग तर्फ सहायक स्तर चौथो र पाँचौ तहका तयारी कक्षा सञ्चालन हुनेछन् । 

लोक सेवा आयोगको तयारी कक्षाका लागि १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको, माध्यामिक शिक्षा वा सो सर योग्यता उत्तीर्ण प्रमाण पत्रको प्रतिलिपि र नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि प्रमाण पत्र सहित निवेदन दिन सूचित गरिएको छ ।

त्यसैगरी शिक्षक सेवा आयोगको कक्षाका लागि आवश्यक प्रमाणपत्रका साथै शिक्षक अध्यापन अनुमति पत्रको प्रतिलिपि, तालिम प्राप्त प्रमाण पत्रको प्रतिलिपि साथ निवेदन पेश गर्न कार्यालयले सूचित गरेको छ ।
शिक्षक सेवा आयोगको कक्षा १५ दिन सम्म र लोकसेवा आयोगका कक्षाहरु एक महिनासम्म दार्चुला सदरमुकाम खलंगामा सञ्चालन गरिने सामाजिक विकास कार्यालय प्रमुख ओझाले बताउनुभयो । 


कक्षाहरुका लागि ४० भन्दा बढी निवेदन आएमा दलित, विपन्न, जनजाति लगायतका आधारमा छनोट गरिने छ । प्रमुख जिल्ला अधिकारी, सदरमुकाममा रहेका कार्यालय प्रमुख, प्रशासन अधिकृत वा विषय विज्ञहरुबाट प्रशिक्षण गरिने उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस् !