महाकाली नदी स्वच्छताका लागि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखले गरे दीप प्रज्वलन 

543

दार्चुला, चैत्र १ गते । 
दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा फोहोर थुप्रिने क्रम बढ्दै गएपछि त्यसको निराकरणका लागि “पवित्र महाकाली नदी स्वच्छता अभियान” सञ्चालन गरिएको छ । अभियानले महाकाली नदी किनारमा दीप प्रज्वलनका साथै जनचेतना जगाउने विभिन्न कार्य गरिरहेको अभियानका संयोजक शंकरसिह धामीले जानकारी दिनुभयो ।

मंगलबार बेलुकी अभियानले पुलघाट नजिक रहेको समैजी मन्दिर तथा घाट बजार क्षेत्रको महाकाली नदी किनारमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन अभियानमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायतले सहभागिता जनाएका छन् ।


मंगलबार साँझ ७ बजेतिर समैजी मन्दिर परिसरमा पुगेर प्रमुख जिल्ला अधिकारी उपाध्यायका साथै सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्ट, नेपाली सेनाको विकास निर्माण कार्यदलका गणपति रमेश गुरुङ, गुरु गोरख गुल्मका गुल्मपति कृष्ण चन्द्र ठकुल्ला, सहगुल्मपति, दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट, प्रमुख अनुसन्धान अधिकृत महेश अवस्थी, स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट, जिल्ला अस्पताल दार्चुलाका जनस्वास्थ्य अधिकृत डम्बर दत्त भट्ट, समैजी मन्दिर समितिका पदाधिकारी लगायतले दीप प्रज्वलनका गरेका छन् ।
पछिल्लो समय “पवित्र महाकाली नदी स्वच्छता अभियान” ले विभिन्न जनचेतनाका कार्यक्रमहरु गरेपछि महाकाली नदी किनारमा फोहोर फाल्ने क्रम घटेको छ । केही दिन अघि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय प्रमुख तथा अभियानकर्मीहरूले नदीमा फोहोर नफाल्न भन्दै महाकाली नदी किनारको बस्ती तथा होटेल/पसलहरुमा घरदैलो अभियान गरेका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस् !