महाकाली नदी किनार क्षेत्रमा निगरानी बढाइने

0
1717

दार्चुला, चैत्र २४ गते।

नेपाल भारत जाड्ने सबै पुलहरु बन्द भएर नेपालीहरु भारत मै बस्न बाध्य रहेको अवस्थामा महाकाली नदी तरेर नेपाल आउनेहरुलाई रोक्न महाकाली नदी किनारमा निगरानी बढाइने भएको छ ।
महाकाली नदीबाट नेपालीहरु भित्रिने क्रम बढेपछि चौबिसै घण्टा निगरानी राख्ने गरी सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभएको छ ।
दार्चुलाको लाली, जौलजिवी, स्याकु र दुम्लिङमा सशस्त्र प्रहरीले निगरानी राख्नेछ । ‘हामीले नदी किनारमा २४सै घण्टा निगरानी राख्ने काम गरेका छौं । कसैले अटेर गरे कानुन अनुसार कारवाही गरिने छ ।’ प्रजिअ पौडेलले भने ।
ब्यास गाउँपालिका वडा नम्बर दुई दुम्लिङ, वडा नम्बर पाँच धौलाकोटको स्याँकु, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा १०÷१० जनाको दरले सशस्त्र प्रहरी परिचालनको तयारी भएको हो ।
दार्चुलामा थप सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले तत्काल थप सुरक्षाकर्मी थपिने पनि उहाँले जानकारी दिएका छन् ।