महाकाली नदीमा बगेर एक जना बेपत्ता

0
772

दार्चुला, असोज २२ गते ।
महाकाली नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महाकाली नगरपालिका वडा नम्बर ८ सुरकाडाँका अन्दाजी २६ वर्षिय पुड्के लुहार रहेका छन् । लुहार सोही क्षेत्रमा पौडी खेल्ने क्रममा विहीबार दिउसो करिब साढे एक बजेतिर महाकाली नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताउनु भयो ।
महाकाली नगरपालिका वडा नम्बर ८ कै रिख्यौडा भन्ने स्थानमा महाकाली नदीमा पौडी खेल्ने क्रममा लुहार बेपत्ता भएका हुन् । नदीमा बेपत्ता भएको खबर पाउना साथ धाप, दत्तु, जौलजीवि तथा लाली प्रहरी चौकीबाट प्रहरी टोली खटिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक चन्दको भनाई छ । ‘बेपत्ता भएको खबर पाउना साथ प्रहरी टोली तदारुकताका साथ खोजी कार्यमा जुटेको छ’ प्रहरी निरीक्षक चन्दले भन्नु भयो ।