महाकाली नगरपालिकामा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया

0
949

दार्चुला, असार २८ गते ।

दार्चुलाको महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा परिवार नियोजन, सुनौलो हजार दिन, सुरक्षित मातृत्व र नसर्ने रोगहरुका बारेमा छलफल गरिएको छ ।स्वास्थ्य सम्बन्धी सचेतना र स्वास्थ्य कार्यक्रम सम्बन्धी समाचार संकलन, सम्प्रेषण र प्रोत्साहन गर्ने उद्देश्यले पत्रकार तथा स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको स्वास्थ्य शाखा संयोजक लालजिरा रावतले बताउनु भयो ।
सुरक्षित मातृत्व तथा परिवार नियोजन लगायतका बारेमा सिनियर अनमि गोमती महराले प्रस्तुती गर्नु भएको थियो भने नसर्ने रोगका बारेमा जिल्ला अस्पताल दार्चुलाका डाक्टर अनिल बडालले प्रस्तुती गर्नु भएको थियो ।
पछिल्लो समय मातृ मृत्युदर ह्वात्तै घटेको र परिवार नियोजनमा पहुँच बृद्धि भएको सिनियर अनमी महराको भनाई छ । यस्तै परिवार नियोजनका साधनहरु प्रयोग गर्नेहरुको पनि पहुँच बढेको उहाँको भनाई छ । विगतमा महिलाहरुले इम्प्लाण्ट राख्नकै लागि पनि सदरमुकाम खलंगा धाउनुपर्ने नगरपालिकाका विभिन्न स्थानका महिलाहरुले अहिले सबै स्वास्थ्य चौकीबाटै उक्त सेवा लिइरहेका छन् । नगरपालिकाका नौ ओटै वडामा स्वास्थ्य सेवा प्रबाह गर्ने ढंगले स्वास्थ्य चौकी नभएका स्थानहरुमा शहरी स्वास्थ्य इकाई केन्द्रहरु सञ्चालन गरि स्वास्थ्य सेवा प्रबाह गरिरहेका बताइएको छ ।
थप पौनेखोला र थाप्ला बस्तीका लागि स्वास्थ्य सेवा सहज बनाउने योजना रहेको नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष पुस्करराज जोशीले बताउनु भयो ।
स्वास्थ्यलाई पछिल्लो समय नसर्ने रोगहरुले चुनौती दिइरहेकाले खानपान, शारीरिक व्यायाममा बढी ध्यानदिनुपर्ने जिल्ला अस्पतालका डाक्टर अनिल बडालको सुझाव छ । नसर्ने रोगहरुका बारेमा जानकारी गराउदै उहाँले चार कारण नसर्ने रोगको संक्रमण बढी रहेको डाक्टर बडालको भनाई छ । धुम्रपान , मद्यपान, अस्वास्थ्यकर खानपान र शारीरिक निष्क्रियताले नसर्ने रोगहरुको संक्रमण बढी रहेको बताएका छन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शंकरसिंह धामीले सेवा प्रवाहमा सुधार गर्न नसके अहिलेको व्यवस्था प्रति जनतामा निराशा छाउने धारणा व्यक्त गरेका छन् । नयाँ अभ्यास र जनतालाई अनुभूति हुने खालका सेवा प्रबाहमा जोड दिए सबैले जस पाउने भन्दै सेवा प्रबाहमा सुधारको आबश्यकता औल्याउनु भएको हो ।
महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला अस्पत्ताल दार्चुलाका डाक्टर अनिल बडाल, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामी, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।