महाकाली नगरपालिकाको माग १४ योजना, सम्बोधन तिनवटा

2042

दार्चुला, पुष १३ गते ।
नेपाल सरकारसंग महाकाली नगरपालिकाले चालु वर्षमा विशेष र सम्पूरक अनुदानबाट सञ्चालन गर्न १४ योजन तथा कार्यक्रम प्रस्ताव गरेकोमा ३ वटा मात्रै स्वीकृत भएका छन् । विशेष अनुदानका लागि ९ र सम्पूरक अनुदानका लागि ५ वटा योजना नगरपालिकाले प्रस्ताव गरेको थियो ।
नगरपालिकाले प्रस्ताव गरेअनुसार नेपाल सरकारबाट सम्बोधन हुन नसकेको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो । ‘हामीले सबै प्रक्रिया पूरा गरी विभिन्न क्षेत्रका योजना माग गरेका थियौं, तर सरकारको सम्बोधन निराशाजनक देखियो’ उहाँले भन्नुभयो ।
विशेष अनुदानतर्फ ९ वटा योजनाका लागि १३ करोड ९३ लाख ८ हजार १ सय ८७ रुपैयाँको बजेट नगपालिकाले प्रस्तावित गरेको थियो । प्रस्तावितमध्ये महिला वालवालिका तथा दलित लक्षित कार्यक्रमका लागि ५० लाख मात्रै हुबहुँ स्वीकृत भएको छ । महाकाली नगर सरसफाई केन्द्र निर्माणका लागि ३ करोड ४ लाखको विस्तृत योजना प्रतिवेदन (डिपिआर)सहित प्रस्तावित गरिएकोमा ७५ लाख रुपैयाँ मात्रै स्वीकृत भएको छ । विशेष अनुदानका लागि प्रस्तावित बाँकी ७ योजनाहरु स्वीकृत नभएको नगर प्रमुख भट्टले बताउनुभयो ।
महाकाली नगरपालिकाका अनुसार चालु वर्षमा विशेष अनुदानतर्फ खेट्टेबगर पिकनिक स्पोट तथा वन संरक्षण योजना, बसपार्क व्यवस्थापन, छिडा झुस्कु सिँचाई योजना, मूल्ला मैखोली सिँचाई योजना, धाप सिँचाई योजना, बिच काँकडा सिँचाई निर्माण योजना र खलंगाको शम्सानघाट संरक्षण कार्यक्रम प्रस्तावित गरिएको थियो । गतवर्ष नगरपालिकाले नेपाल सरकारले ३ करोड ५० लाख रुपैयाँ विशेष अनुदान उपलब्ध गराएको थियो ।
सम्पूरक अनुदानतर्फ ५ योजना प्रस्तावित गरिएकोमा एउटा मात्रै स्वीकृत भएको नगर प्रमुख हंसराज भट्टले बताउनुभयो । नगरपालिका क्षेत्रभित्र सडक निर्माण योजनामा ५ करोड ८० लाख रुपैयाँ लागत अनुमानसहित प्रस्ताव गरिएकोमा नेपाल सरकारले ७७ लाख रुपैयाँ मात्रै सम्पूरक अनुदान दिएको छ । सम्पूरक अनुदानको कार्यविधिअनुसार कुल लागतको ५० प्रतिशत रकम नेपाल सरकारले र ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तहले ब्यहोर्नुपर्छ ।
सम्पूरक अनुदानका लागि छापरी पर्यटन विकास तथा भ्युटावर निर्माण, डुङरी क्षेत्र विकास कार्यक्रम, महेन्द्र नमुना मावि भवन निर्माण र सौर्य सडक बत्ति जडान योजना पनि प्रस्तावित गरिएका थिए । सम्पूरक अनुदानका लागि प्रस्तावित पाँचवटै योजनाहरुको कुल लागत १२ करोड ६० लाख १८ हजार ७ सय ३० रुपैयाँ रहेको छ । गतवर्ष भने महाकाली नगरपालिकाले नेपाल सरकारबाट २ करोड ८६ लाख ५८ हजार रुपैयाँ सम्पूरक अनुदान पाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !