महाकाली नगरपालिकाको क्वारेन्टाइनमा सुत्ने ब्यवस्थापन बेजोग

1891

बिरा दत्त भट्ट, दार्चुला ।

दार्चुलाको महाकाली नगरपालिकाले क्वारेन्टाइनमा राखेका नागरिकहरुका लागी सुत्न गरेको ब्यवस्थापन बेजोग छ ।
नगरपालिकाले दार्चुला बहुमुखी क्याम्पसमा ब्यवस्थापन गरेको क्वारेन्टाइनमा  कार्पेटमा नागरिकहरु रात काट्न बाध्य बनेका छन् ।
एकतिर समयमै स्वास्थ्य परिक्षण नगरिदा क्वारेन्टाइन अवधि १४ दिन भन्दा बढि क्वारेन्टाइनहरुमा बसिरहनुपर्ने अवस्था रहेको छ भने अर्काेतिर पातलो कार्पेटमा सिमेन्टमा सुत्दा ढाड दुखेर विरामी हुने अवस्था सृजना भइरहेको महाकाली नगरपालिकाले ब्यवस्थापन गरेको दार्चुला बहुमुखी क्याम्पसमा रहेका अछामका अर्जुन शाहीको भनाई छ ।
‘घर नजिक भएको भए ओढ्ने, ओछ्याउने घरबाट माग्थे , अछामको मान्छे कहाँबाट ल्याउनु, नगरपालिकाले एउटा पातलो मेट्रस मात्रै दिएको छ, सिमेन्टमा सुत्दा विरामी हुने अवस्था आइसक्यो’ अछाममा अर्का ब्यक्ति ध्रुब शाहीले गुनासो गर्नुभयो ।
उक्त क्वारेन्टाइनमा रहेका २२ जनाको खाने ब्यवस्थापन राम्रै गरेको भएपनि सुत्ने ब्यवस्थापन राम्रो नरहेको गुनासो छ ।
भारतबाट फरक समयमा आएका ब्यक्तिहरुलाई एउटै ठाउँमा राखिएको छ , यसले झन् जोखीम बढाएको छ, यस्तो क्वारेन्टाइनमा बसाल्नु भन्दा होम क्वारेन्टाइनमै बस्थे महाकाली नगरपालिका वडा नं ३ का स्थानिय राजेन्द्र सिह बडालले गुनासो गर्नुभयो ।
सुत्नलाई सामाजीक दुरी पनि कायम नगरिएको र एउटा मेट्रसमा चिसो सिमेन्टमा सुत्दा जिउ दुख्ने समस्या सिर्जना भइरहेको उहाँको गुनासो छ ।

नगरपालिकाले सुत्न दिएको म्याट पातलो र पारदर्शी छः पातलो भएकाले फोटो खिच्दा म्याट समातेको मान्छेको लुगा प्रस्ट देखिएको छ ।

अनुगमनमा आइरहेकाले राम्रो बताउन भनेका थिए ब्यवस्थापकले

मिडियामा क्वारेन्टाइनको ब्यवस्थापन नराम्रो रहेको समाचार आएपछि महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले आइतबार क्वारेन्टाइनको अनुगमन गरेका थिए ।
अनुगमनमा मेयर र पत्रकारहरु आइरहेकाले समस्या नबताउन र राम्रो कुरा मात्रै बताउनु भनेर क्वारेन्टाइन ब्यवस्थापकले अनुरोध गरेको नाम नबताउने शर्तमा महाकाली नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका एक ब्यक्तिले बताए ।
आइतबार नगरपालिका प्रमुख र पत्रकारहरुले गरेको अनुगमनमा क्वारेन्टाइनको ब्यवस्थापन राम्रो रहेको बताएका थिए ।
खानलाई दाल भात पाएकै छौ सुत्न समस्या भयो, पातलो कार्पाेट दिनुभन्दा पराल दिएको भए हुन्थ्यो महाकाली नगरपालिका वडा न. ८ का स्थानिय देब दत्त बडुले भन्नुभयो ।
धार्चुला बजार बन्द भएकाले ओढ्ने ओछ्याउने ब्यवस्थापन गर्न नसकिएको विपद् ब्यवस्थापन टिमले बताएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !