महाकालीमा हुने फोहोर नियन्त्रण गर्न नदी किनारका बस्तीमा घरदैलो गरिदै 

0
580
फाइल फोटोः महाकाली नदीको स्वच्छताका लागि हातमा नदीको पानी लिएर संकल्प गर्दै अभियानकर्मीहरु

दार्चुला, फागुन २६ गते । 

दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारमा फोहोर विर्सजन गर्ने काम नरोकिएपछि जिल्लाका सरोकारवालाहरुले शुक्रबार देखि एक हप्ता सम्म महाकाली नदी किनारका बस्तीहरूमा घरदैलो गर्ने भएका छन् ।

विहीबार पवित्र महाकाली नदी स्वच्छता अभियानले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरु नदी सफा राख्न तथा फोहोर विर्सजन रोक्नका लागि अनुगमन, जनचेतना देखि कारवाही सम्मका क्रियाकलापहरु गर्न एकमत भएका छन् ।
पहिलो चरणमा शुक्रबार बिहान देखि एक हप्ता सम्म महाकालीमा फोहोर नफाल्न जनचेतना जगाउन लागि नदी किनारका बस्तीहरुमा महाकाली नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, शिक्षक, विद्यार्थी, तथा पवित्र महाकाली नदी स्वच्छता अभियानका अभियानकर्मीहरुले घरदैलो गर्ने अभियानका संयोजक शंकर सिह धामीले बताउनुभयो ।
महाकाली नदीको स्वच्छताका लागि शुक्रबार गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले फोहोर फाल्ने प्रवृत्ति रोक्नका लागि जनचेतना जगाउनु आवश्यक रहेको बताएका छन् । 

सार्वजनिक शौचालय प्रयोग भएनन्ः नगरप्रमुख भट्ट 

कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले खलंगा बजारमा क्षेत्रमा १ सय ४ घरपरिवार शौचालयको पाइप महाकाली नदीमा जोडेका पाइएको बताउनुभयो । पछिल्लो समयमा यो तथ्याङ्कमा केही घटेको हुन सक्ने भएपनि महाकाली नदी किनारको घाट बजार क्षेत्रका घरहरुको शौचालयको पाइप महाकाली नदीमा मिसाएको जानकारी दिनुभयो ।
महाकाली नदीको पवित्रलाई नबुझेर घरमै बगेको गंगालाई छोडेर हरिद्धार जाने प्रवृत्ति रहेकाले यसको महत्व सबैले बुझ्नु आवश्यक रहेको उहाँको भनाई छ ।
नागरिकहरुको चेतनाको कमी वा लापरबाहीका कारण नदी किनार वा बाहिर दिशा पिसाब गर्ने प्रवृत्तिले नगरपालिकाको बजार क्षेत्रमा भएका सार्वजनिक शौचालय प्रयोग विहिन बनेको मेयर भट्टको भनाई छ ।  घाटबजार नजिक पिपल चौतारामा रहेको सार्वजनिक शौचालय प्रयोग विहिन हुदाँ र सञ्चालन गर्ने जनशक्ति नहुदाँ भत्काउनु परेको थियो । बंगाबगड क्षेत्रको शौचालय पनि कम प्रयोगमा आइरहेको छ । तर बाहिर दिशा पिसाब गर्ने प्रवृत्ति देखिएको छ, उहाँले भन्नुभयो ।
भारतको विहारका कामदारहरुले गर्दा पनि महाकाली नदी किनारमा दिशा पिसाब जन्य फोहोर भइरहेको छ ।
महाकाली नदी किनारमा हुने फोहोर व्यवस्थापनका लागि नगरपालिकाको ध्यान नपुगेको स्विकार्दै मेयर भट्टले जनचेतना फैलाउन नसके सम्म यस्तो समस्या हुने बताउनुभयो । महाकाली नगरपालिकाले घर–घरमा हुने फोहोर संकलनका लागि ८० घरमा एक जना पुग्ने गरि सरसफाईकर्मी परिचालन गरिएको बताउनुभयो ।
देशका अन्य क्षेत्रमा फोहोर व्यवस्थापन बाफत स्थानीय सरकारहरुले कर उठाउने गरेको तर्फ संकेत गर्दै महाकाली नगरपालिकाले निःशुल्क फोहोर संकलन र व्यस्थापन गरिरहेको भएपनि आम नागरिक सचेत नहुदाँ नदी किनारमा वा सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्ति रहेको उहाँको भनाई छ । फोहोर संकलन तथा व्यस्थापनका लागि महाकाली नगरपालिको बार्षिक ५० लाख खर्च गरिरहेको मेयर भट्टले बताउनुभयो । नगरपालिकाले फोहोर व्यस्थापनका लागि यति प्रयास गर्दा पनि केही व्यक्तिहरुले अटेर गरिरहेकाले तिनिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बजार क्षेत्रमा तथा महाकाली नदी किनारमा डस्टविन राख्नु आवश्यक रहेको बताउनुभएको छ । सार्वजनिक स्थान तथा महाकाली नदीमा फोहर फाल्नेहरुलाई निगरानी गर्नका लागि सिसिटिभी क्यामेरा जडान गरिनुपर्ने उहाँले बताउनुभयो । 


कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपती एसपी त्रिभुवन विष्टले सरोकारवालाहरुको टोली संगै फोहोर भएको क्षेत्रका नदी किनारका नागरिकहरुलाई सफा गर्न लगाइनुपर्ने बताउनुभयो । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख कमल सिह महतोले आयोजनाले आवस्यकताका आधारमा तटबन्ध भएको क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीले विद्यार्थीहरुका माध्यमबाट महाकाली नदीका प्रत्येक घरहरुमा फोहोर नफाल्न सन्देश पुर्याउने बताउनुभयो । 


अभियानका संयोजक धामीले पवित्र महाकाली नदी स्वच्छता अभियानले प्रत्येक महिनाको संक्रान्ति र पूर्णिमा तिथीका दिन नदीमा दिप प्रज्वलन गर्दै आइरहेको बताउनुभयो । घाटबजार तथा बंगाबगडका केही घरहरुको शौचालयको पाइप नदीमा जोडिएको भएकाले नदीमा पाइप जोडेका घरधुरी पहिचान गरि सेफ्टी ट्याङ्कीको व्यवस्था गर्न लगाउनुपर्ने बताउनुभयो । 


संयोक शंकरसिह धामीको अध्यक्षतामा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा महाकाली नगरपालिकाका मेयर हंशराज भट्ट प्रमुख अतिथि रहनुभएको थियो भने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय बिशिष्ट अतिथि रहनुभएको थियो । अभियानका सह संयोजक महेश राज भट्टले सञ्चालन गरेको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशी, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।