महाकालीमा मोटरपुल निर्माण गर्न जमिनको टुंगो लगाइदै

0
3074

दार्चुला, भदौ १८ गते ।
महाकाली नदीमा नेपाल भारत जोड्ने मोटरपुल निर्माणका लागि नेपाली पक्षले जमिनको टुंगो लगाउने गृहकार्य गरिरहेको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ सुरकाडामा क्षेत्रमा मोटरपुल बनाइने भएपछि जमिनको व्यवस्थापन गरिन लागेको हो ।
मोटरपुल निर्माण गर्ने स्थानको टुंगो लागिसकेको छ । पुल निर्माण हुने क्षेत्रमा नेपालतर्फ सार्वजनिक प्रति जग्गा रहेको मालपोत कार्यालय दार्चुलाका प्रमुख अमरसिह कुवरले बताउनुभयो । साविकको धाप गाविसको वडा नम्बर १ मा पर्ने कित्ता नम्बर ३ सय ८६ को क्षेत्रमा पुल निर्माण हुने भएको छ । उक्त कित्तामा १३ रोपनी ३ आना जमिन रहेको मालपोत कार्यालयको अभिलेख छ ।
पुल निर्माण गरिने स्थलको जमिनबारे अध्ययन गरी टुंगो लगाउने कार्य भइरहेको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर शंकर खनालले बताउनुभयो । जिल्ला प्रशासन र मालपोत कार्यालयसंग समन्वय गरी नापी कार्यालयले पुल निर्माण हुने ठाँउमा जमिनको नक्सा र विवरण सडक डिभिजनलाई उपलब्ध गराएको इन्जिनियर खनालले जानकारी दिनुभयो ।
नापी कार्यालयबाट प्राप्त जमिनको विवरण र नक्सासहितको प्रतिवेदन डिभिजन सडक कार्यालय पाटनबाट भदौ १५ सडक विभागअन्तर्गतको पुल महाशाखामा पठाइएको छ । ‘भारतीय पक्षले पुल निर्माणको कार्य सुरु गर्न नो अब्जेक्सन लेटर मागेको छ, विभागले टुंगो लागेपछि औपचारिक जानकारी गराउछौ’ सडक डिभिजन पाटनका इन्जिनियर शंकर खनालले भन्नुभयो ।
मोटरपुल निर्माणको जग अर्थात एबुडमेन्ट निर्माण र पहुँच मार्ग जोड्नका लागि ६÷७ रोपनी जमिन आवश्यक पर्ने इन्जिनियर खनालले बताउनुभयो । उक्त क्षेत्रमा सार्वजनिक प्रति जमिन उपलब्ध भएपछि जमिन व्यवस्थापन सहज बनेको उहाँको भनाई छ ।